site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आयल निगम ऋणमुक्त, २६ अर्ब आन्तरिक दायित्व बाँकी

काठमाडौं । नेपाल आयल निगम ऋणमुक्त भएको छ । निगमले गत मंगलबार अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयलाई अन्तिम किस्तास्वरुप ७० करोड रुपैयाँ बुझाएर ऋणमुक्त भएको हो ।

सरकारबाट लिएको सात अर्ब रुपैयाँ ऋण चुक्ता गरेसँगै निगम ऋणमुक्त भएको नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए । यसअघि नै निगमले सरकारलाई ६ अर्ब ३० करोड रुपैयाँ ऋण तिरिसकेको थियो । योसँगै निगम ऋणमुक्त भएको छ । तर, आन्तरिक दायित्व भने २६ अर्ब रहेको ठाकुर बताउँछन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“हामीले गत मंगलबार अर्थ मन्त्रालयको ऋण व्यवस्थापन कार्यालयलाई ७० करोड रुपैयाँ बुझाएसँगै ऋण मुक्त भएका छौँ,” उनले भने, “तर, पेट्रोल खरिद गर्दाको हाम्रो आन्तरिक दायित्व भने २६ अर्बभन्दा बढी रहेको छ । मूल्य स्थिरीकरण कोषको २१ अर्ब, एयरलाइन्स तथा विक्रेताहरूको दुई अर्ब र तीन अर्ब २० करोड २०७४ अगाडि कर्मचारी आवासका लागि गरिने प्रोभिजनको पैसा हामीले तेल खरिद गर्नमा खर्च गरेका छौँ ।”

आन्तरिक दायित्वको ब्याज नलाग्ने भएकाले सजिलो हुने ठाकुर बताउँछन् । स्वचालित मूल्य लागु भएमा नाफाबाट नै निगमले यो आन्तरिक दायित्वबापतको रकम मिनाहा गर्ने उनी बताउँछन् । तर, अहिलेकै अवस्थामा भने समस्या पर्ने उनको बुझाइ छ ।

“आन्तरिक दायित्वको ब्याज लाग्दैन । स्वचालित कार्यविधिअनुसार पेट्रोलियम पदार्थको मूल्य कायम भयो भने हामीले नाफाबाट नै आन्तरिक दायित्व पूर्ति गर्दै जानेछौँ,” उनले भने, “अहिलेकै अवस्थामा ग्यासमा प्रतिसिलिन्डर ३०० रुपैयाँ घाटा छ । निगमको ७० प्रतिशत घाटा एलपी ग्यासबाट नै छ ।”

पेट्रोल र डिजेलमा भने सामान्य नाफा छ । निगमले इन्डियन आयल कर्पाेरेसन (आईओसी)को २४ अर्ब रुपैयाँ गत वर्ष नै तिरेको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १९:५३
प्रतिक्रिया दिनुहोस्