site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इन्डोनेसियामा बाढी र पहिरोका कारण १० जना बेपत्ता

जाकर्ता । इन्डोनेसियाको सुमात्रा टापुमा टोबा ताल नजिकैको एउटा गाउँमा अचानक आएको बाढी र पहिरोमा परी कम्तीमा १० जना अझै बेपत्ता भएको एक उद्धार अधिकारीले सोमबार बताएका छन् । 

अविरल वर्षाका कारण आएको बाढी र पहिरोले शुक्रबार राति उत्तरी सुमात्रा प्रान्तको एउटा गाउँको आवासीय इलाकालाई असर पुर्‍याएको थियो । बाढी र पहिरोले ७८ वर्षीया एक महिलाको मृत्यु भएको, दर्जनौँ घर बगाएको र एउटा होटेल क्षतिग्रस्त भएको छ ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मेदान खोज तथा उद्धार एजेन्सीका प्रमुख बुडियोनोले सुरुमा ११ जना बेपत्ता भएको घोषणा गरिएको तर सोमबार उद्धारकर्मीले एउटा शव फेला पारेको जानकारी दिए । बेपत्ता हुनेमा ६ र आठ वर्षका बालबालिका पनि रहेका छन् । 

उनका अनुसार खोजी प्रयासलाई पानी र जमिनमा विभाजन गरिएको छ । थुप्रै डुंगा र गोताखोरले बेपत्ता हुनेहरूको खोजी गरिरहेका छन् भने टोबा ताल नजिकै उत्खनन र खोजबिन जारी छ ।

बेपत्ताहरूको शव विश्वको सबैभन्दा ठूलो ज्वालामुखी तालमा तानिएको हुनसक्ने आशंकामा उद्धारकर्मीहरूले सोनार डिटेक्सनको प्रयोग गरिरहेको बुडियोनोले बताए । 

राष्ट्रिय खोज एवं उद्धार एजेन्सी बसरनासका अनुसार करिब १४० मानिसलाई गाउँबाट विस्थापन गरिएको छ ।  रासस/एएफपी

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १३:३७
प्रतिक्रिया दिनुहोस्