site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एनसेलको सेयर बिक्रीमा नेता, कर्मचारी र व्यापारीको मिलेमतो छ : शेखर कोइराला

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अबको पाँच वर्षपछि सरकारीकरण गरिनुपर्ने एनसेलको सेयर बिक्री गरिएको विषयमा प्रश्न उठाएका छन् । कांग्रेस ओखलढुंगाको प्रथम जिल्ला सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै उनले सरकारीकरण गरिनुपर्ने एनसेल खरिदबिक्री प्रकरणमा राजनीतिज्ञ, कर्मचारी र व्यापारीहरूको मिलेमत्तो रहेको दाबी गरे ।

“आजको पाँच वर्षपछि नेपाल सरकारको मातहतमा हुनुपर्ने एनसेल बेचिँदै छ भन्ने केही दिनदेखि जताततै चर्चा भइरहेको छ । यसमा राजनीतिज्ञहरू, कर्मचारी र व्यापारीहरूको मिलेमतो नभई सम्भव हुँदैन,” उनले भने,“त्यसकारण हामीले नेताहरूलाई प्रश्न गरेका छौँ कि एनसेल बिक्री प्रकरण किन भयो ?”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेता कोइरालाले यस घटनालाई कांग्रेसले गम्भीररूपमा लिएको भन्दै नेपाललाई विकसित मुलुक बनाउन भ्रष्टाचारलाई निर्मूल गर्नुको विकल्प नभएको स्पष्ट पारे ।

“अहिले जताततै मानिसहरूमा असन्तुष्टि छ । यसको कारण केहो भनेर बुझ्दा भ्रष्टाचारले देशलाई गाँजेको छ भन्ने कुरा सर्वत्र सुन्नुहुन्छ । भ्रष्टाचार नै मुलुकको विकास र समृद्धिको बाधक हो,” उनले भने । 

करिब ७५ प्रतिशत जनता कृषिमा आधारित भए पनि उत्पादनलाई बढाएर कृषिमा आधारित उद्योगलाई बढाएर जान सकेमात्रे रोजगारीका अवसरहरू देशभित्रै पाउन सकिने नेता कोइरालाको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १७:३३
प्रतिक्रिया दिनुहोस्