
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पुस ९ गतेदेखि यू–१६ युथ लिग पुनः सुरु गर्ने भएको छ । आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा एन्फा अधिकारी र लिगका क्लबहरूबीच पुस ९ गतेदेखि लिग पुनः सुरु गर्ने सहमति बनेको हो ।
लिग करिब पाँच महिना रोकिएपछि सुरु हुन लागेको हो । लिगमा गत साउन २७ गते चर्च ब्वाइज युनाइटेड र मनाङले प्रतिस्पर्धा गरेका थिए । त्यसपछि यू–१६ साफ च्याम्पियनसिप र अन्य विविध कारणले प्रतियोगिता रोकिएको थियो ।
आगामी सातादेखि सुरु हुने लिगको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लब भिड्ने छन् । खेल सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने छ ।
लिगमा नेपाल पुलिस, नेपाल एपीएफ, मछिन्द्र, संकटा, फ्रेन्ड्स, एफसी खुमलटार, त्रिभुवन आर्मी, चर्च ब्वाइज युनाइटेड, मनाङ मर्स्याङ्दी र न्यू रोड टिम (एनआरटी) को सहभागिता छ ।
लिग रोकिनुअघि नेपाल पुलिस क्लब पाँच खेलमा ११ अंकसहित तालिकाको शीर्ष स्थानमा थियो ।