site stats
बाह्रखरी :: Baahrakhari
खेल
जोटाको मृत्यु : श्रद्धान्जली दिनेमा रोनाल्डो–मेसीसँगै विश्वभरका फुटबलर

काठमाडौं । पोर्चुगल तथा लिभरपुलका फरवार्ड डियागो जोटाको निधनले विश्व फुटबललाई स्तब्ध बनाएको छ । 

बिहीबार स्पेनमा भाइसँगै कार दुघर्टनामा पर्दा जोटा र उनको भाइको मृत्यु भएको थियो । २८ वर्षीय जोटा सन् २०१९ यता पोर्चुगलको नियमित सदस्य थिए । उनका भाइ आन्द्रे सिल्भा पनि पोर्चुगलको दोस्रो डिभिजनमा व्यावसायिक फुटबल खेल्थे ।

स्पेनको जामोरामा टायर पड्किँदा कार दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जोटा र उनको भाइको मृत्युपछि हाल विश्वभरका चर्चित फुटबलर र खेलकुद क्षेत्रसँग सम्बन्धित चर्चित व्यक्तित्वले समेत श्रद्धान्जली प्रकट गरेका छन् । 

जोटाका सहकर्मी पोर्चुगलका कप्तान रोनाल्डो लेख्छन्, “केही समयअघि मात्रसम्म हामी राष्ट्रिय टिममा सँगै थियौँ । तिमीले भर्खरै मात्र विवाह गरेका थियौ । अब यसले अर्थ राख्दैन । मलाई थाहा छ, तिमी सधैँ उनीहरुसँगै हुनेछौ । हामी तिमीलाई सम्झिनेछौँ ।”

जोटाको वर्तमान क्लब लिभरपुलले पनि डियागो र उनको भाइको मृत्युलाई अकल्पनीय क्षति भनेको छ । 

“यो अकल्पनीय क्षतिबाट उठ्न खोजिरहेका जोटा र आन्द्रे परिवारको गोपनीयतालाई मध्यनजर गर्दै लिभरपुल एफसी यो समयमा कुनै पनि प्रतिकृया जनाउने पक्षमा छैन ।”

लिभरपुलका पूर्वप्रशिक्षक योर्गान क्लोपले पनि जोटाको मृत्युको समाचारले आफूलाई विक्षिप्त बनाएको बताएका छन् ।

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले पनि इन्स्टाग्राम स्टोरीमा जोटाप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।

यसबाहेक, जोटासँगै खेलेका पोर्चुगल तथा लिभरपुलका अन्य सहकर्मी र विश्वभरका फुटबलरले उनको मृत्युप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १२:३०
प्रतिक्रिया दिनुहोस्