
काठामाडौं । पाँच खेलको शृंखलाका निम्ति इंग्ल्यान्ड भ्रमणमा रहेको भारतले दोस्रो टेस्टको पहिलो इनिङमा घरेलु टिमविरुद्ध बलियो पकड बनाएको छ ।
बर्मिङघममा जारी टेस्टको पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको भारतले ५८७ रन बनाउँदा सबै विकेट गुमाएको थियो । पाहुना टिमलाई विशाल योगफलसम्म डोर्याउन कप्तान सुभमन गिलको प्रदर्शन सबैभन्दा महत्वपूर्ण रह्यो ।
गिलले २६९ रनको दोहोरो शतकीय इनिङ खेले । उनले ३८७ बलको सामना गर्दा ३० चौका र तीन छक्का प्रहार गरे ।
यसबाहेक, रवीन्द्र जडेजाले ८९, ओपनर यशश्वी जैसवालले ८७, वासिङ्टन सुन्दरले ४२ र करुण नायरले ३१ रन थपे । ऋषव पन्तले पहिलो इनिङमा २५ रन जोडे ।
इंग्ल्यान्डका सोएब बसिरले तीन विकेट लिए । क्रिस वोक्स र जस टंगले समान दुई विकेट लिँदा ब्राइडन कर्ज, बेन स्टोक्स र जोए रुटको नाममा एक–एक विकेट रह्यो ।
पहिलो इनिङमा ब्याटिङका निम्ति आएको इंग्ल्यान्डले दोस्रो दिन स्टम्प हुँदासम्म ७७ रन जोड्दा तीन विकेट गुमाइसकेको छ ।
इंग्ल्यान्डबाट हाल क्रिजमा रहेका ह्यारी ब्रुकले ३० र जोए रुटले १८ रन बनाएका छन् । त्यसअघि ओपनर ज्याक क्राउलीले १९ रन थप्दा बेन डकेट र ओली पोप शून्यमा पभेलियन फर्किएका थिए ।
घरेलु टिमविरुद्ध दबाब बनाउन भारतका आकाश दीपले दुई विकेट लिए । यस्तै, मोहम्मद सिराजले एक विकेट लिएका छन् ।