site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘टाइम कार्ड’ लागु गर्न गण्डकी सरकारलाई अर्थ समितिको निर्देशन

पोखरा । चालु आर्थिक वर्ष २०८०/०८१ को सात महिना बितिसक्दा गण्डकी प्रदेश सरकारको पुँजीगत खर्च जम्मा १४ प्रतिशत छ । चालु आवमा पाँच अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन गर्ने सरकारको लक्ष्य छ । अहिलेसम्म एक अर्ब ५९ करोड मात्र संकलन गरिएको छ ।

बजेट कार्यान्वयनमा सबैभन्दा कमजोर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देखिएको छ । मुख्यमन्त्री कार्यालयले गत आर्थिक वर्षको यो अवधिमा २२.७७ प्रतिशत खर्च गरेको थियो । अहिले कुल बजेटको ७.२३ प्रतिशत मात्र बजेट खर्च गरिएको छ ।

कृषि तथा भूमि व्यवस्था मन्त्रालयले ८.४१ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेशसभा सचिवालयले ३२.६९, लोकसेवा आयोगले २७.७४, मुख्य न्यायधिवक्ताको कार्यालयले ३०.२९, आर्थिक मामिला मन्त्रालयले १३.४६ प्रतिशत बजेट खर्च गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २१.९८, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले २३.५१, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले २२.०१, सामाजिक विकास मन्त्रालयले १५.६९ र नीति तथा योजना आयोगले १६.६३ प्रतिशत मात्र बजेट खर्च गरेका छन् ।

चालु आर्थिक वर्षको बजेट कार्यान्वयन प्रभावकारी नभएको, गत वर्षभन्दा बजेट खर्च घटेको लगायत विषयमा प्रदेशको अर्थ तथा विकास समितिले गण्डकी सरकारलाई निर्देशन दिएको छ ।

“यो अवस्था किन भयो ? बजेट कार्यान्वयन प्रभावकारी किन हुन सकेको छैन ? सिंगो अर्थतन्त्र र विकास प्रणालीलाई गतिशील बनाउनको निमित्त अर्थ मन्त्रालयले १५ दिनभित्र कार्ययोजना बनाएर पठाउन भनेका छौँ,” समिति सदस्य डिल्लीराम सुवेदीले भने, “कहाँकहाँ कमी भइरहेको छ ? त्यो औँल्याउनुपर्‍यो नि ।”

समितिले सरकारलाई बजेट क्यालेन्डर नै परिवर्तन गर्न निर्देशन दिएको छ । “कर्मचारीले बजेट ढिलो आउँछ भन्छन् । त्यसो भए बजेट क्यालेन्डर फेर्नुपर्‍यो । चैत १५ भित्रै प्राथमिकता र सिद्धान्तमाथि ल्याउनुपर्‍यो, छलफल गरौँ,” उनले भने ।

फाइल अड्किएका कारण पनि बजेट खर्चमा सुस्तता आएको समितिको ठहर छ । समितिले फाइलका हकमा ‘टाइम कार्ड’ लागु गर्न निर्देशन दिएको छ ।

सुवेदीले भने, “फाइल अड्किने समस्या निकै छ । मन्त्रीकोमा पुगेको फाइल कति दिनसम्म राख्ने हो ? सचिवकहाँ पुगेको फाइल कति दिनसम्म अड्काउने हो ? यसका लागि टाइम कार्ड लागु गर्नुपर्छ । टाइम कार्ड लागु गर्ने गरी कार्यविधि बनाउन आवश्यक छ । त्यो कार्यान्वयन भएन भने कसैले गएर मुद्दा हालोस् र कारबाही होस् ।”

मन्त्री नभएकाले फाइल अगाडि बढ्न नसकेको समितिको निष्कर्ष छ । स–साना कार्यक्रममा पनि मन्त्री नै जाने परिपाटीका कारण सरकारको प्रभावकारिता नदेखिएको बताइन्छ ।

“कात्तिकदेखि गएका फाइल अड्किएका छन् । मन्त्रीहरू नै मन्त्रालय बसेनन्, कार्यक्रममा मात्र हिँडे भन्ने छ । कहाँबाट सरकारको प्रभावकारिता र गभर्नेन्स अगाडि बढ्छ ?,” सुवेदीको प्रश्न छ ।

समितिले प्रदेश र स्थानीय तहबीच समन्वय कमजोर हुँदा राजस्व संकलन, बजेट कार्यान्वयनमा समस्या देखिएको औँल्याएको छ । अन्तरसमन्वयको सञ्जाल बनाउन निर्देशन दिएको छ ।

करको दायरा बढाउन, डिजिटलाइज्ड गर्न, एकीकृत कर प्रणाली बनाउन पनि समितिले निर्देशन दिएको छ । जिल्लामा एकीकृत प्रशासनिक भवन बनाएर एकै ठाउँबाट सेवा दिन समितिले सुझाव दिएको छ ।

“जिल्लामा कार्यालय छन्, कर्मचारी छैनन्, दरबन्दी छैन । यसले समस्या निम्त्याएको छ । जिल्लामा एकीकृत प्रदेश कार्यालय राख । त्यसमा शाखा मात्र राख भन्ने हाम्रो सुझाव छ,” सुवेदीले भने ।

योजना बैंकमा योजना राख्नुपूर्व डीपीआरका निम्ति बजेट व्यवस्था गर्न समितिले सुझाव दिएको छ । “योजना बैंक बनाउने भनिएको छ । नीति तथा योजना आयोगले र सरकारले पनि अगाडि बढाएको छ । तर, योजना बैंकमा डीपीआर भएका योजनाहरू हुनुपर्‍यो । त्यसकारण डीपीआरका लागि बजेट विनियोजन गर्नुपर्‍यो,” उनले भने ।

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्