site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद्का कार्यवाहक महासचिव पाण्डेय आफैँले निवेदन दिएर घटाएका थिए ६ वर्ष उमेर 

काठमाडौं । संसद्का कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेय आफैँले निवेदन दिएर ६ वर्ष उमेर घटाएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले तयार पारेको प्रतिवेदनबाट पाण्डेयले ख्याहा गाउँ विकास समितिमा निवेदन नै दिएर ६ वर्ष उमेर घटाएको तथ्य फेला परेको हो । 

संसद्का कार्यवाहक महासचिव पाण्डेयको नागरिकतामा ‘गडबडी’

पाण्डेयको निवेदनका आधारमा ख्याहा गाविसले पाण्डेयको उमेर २०३२ साल पुस २६ गते भएको भन्दै जिल्ला प्रशासन कार्यालयले पाल्पालाई सिफारिस गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“..झविन्द्रप्रसाद शर्मा पाण्डेयको छोरा पद्मप्रसाद पाण्डेयको निवेदनअनुसार निज मिति २०३२ साल पौष २६ गते जन्म भएको हुँदा निजको जन्म मिति २०३२–९–२६ गते भएको सिफारिस साथ अनुरोध गरिन्छ,” ख्याहा गाविसका सचिव नासु श्याम कार्कीले ०६६ साल भदौ ५ गते गरेको सिफारिसमा भनिएको छ । 

padam9-1706273429.JPG
 

तर, पाण्डेयले भने जिल्ला प्रशासनमा आफूले नागरिकता हराएकाले प्रतिलिपि उपलब्ध गराउन निवेदन दिएकोमा फरक जन्ममितिमा नागरिकता दिएर त्रुटि गरेको भन्दै आएका छन् । 

उनले आफ्नो २०४६ साल असार २८ गते लिएको नागरिकता नम्बर ३५ मा उनको जन्ममिति २०२६ साल असोज १५ गते छ । पाण्डेयले त्यो नागरिकताबाट राहदानीसमेत लिएको जिल्ला प्रशासन कार्यालय पाल्पाको प्रतिवेदनमा उल्लेख छ । 

संसद्का कार्यवाहक महासचिवको नागरिकता सम्बन्धमा राज्य व्यवस्था समितिको चासो 

पाण्डेयले गाविसबाट सिफारिस ल्याइ आफ्नै काका कृष्णप्रसाद पाण्डेलाई सनाखत गराएर ०६६ साल भदौ ८ गते लिएको ३९१०११÷१५५ नम्बरको नागरिकतामा २०३२ साल पुस २६ गते जन्ममिति कायम गरेका छन् । 

त्यो नागरिकताबाट पनि उनले राहदानी लिएको विवरण यसअघि पहिलोपटक बाह्रखरीले प्रकाशित गरिसकेको छ । जुन कुरा जिल्ला प्रशासन कार्यालय पाल्पालेसमेत स्वीकार गर्दै प्रतिवेदनमा उल्लेख गरेको छ । 

संसद्का कार्यवाहक महासचिव पाण्डेयले उमेर घटाएको नागरिकताबाटै लिएका थिए पासपोर्ट पनि 

पाण्डेयले आफैँले उमेर घटाएर लिएको नागरिकतासहित पुरानो नागरिकता नम्बर ३५ को नागरिकता फेला परेको भन्दै निवेदन हालेका पाण्डेयले ०७६ साल भदौ २३ मा दुवै नागरिकता रद्ध गरी ३९–०१–७६–०५५१५ नम्बरको प्रतिलिपी लिएका थिए । 

तर जन्ममिति भने पहिलो नागरिकतासँग मिल्दो रहेको छ । 

padamnagarikta-1706273849.jpg
 

अन्तिममा कायम गरिएकोसहित तीन नागरिकता र दुई राहदानी लिएका पाण्डेयले आफूले किर्ते नागरिकता र राहदानी कतै पनि  ‘दुरुपयोग नगरेको’ भनेर सनाखत गरेको जिल्ला प्रशासन कार्यालय पाल्पाको प्रतिवेदनमा उल्लेख छ । 

गृहले पठायो कार्यवाहक महासचिव पाण्डेयको विवरण– राहदानी पनि बनेका थिए दुईवटा

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिलाई पनि यही आधारको प्रतिवेदन पठाइएको गृह मन्त्रालय स्रोतले बाह्रखरीलाई जानकारी दियो । राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले समितिमा परेको उजुरीपछि गृह मन्त्रालयमा माग गरिएको विवरण समितिमा प्राप्त भए पनि बैठक नबसेको हुँदा नखोलिएको प्रतिक्रिया दिए ।

उनले समितिमा प्रतिवेदन प्राप्त भइसकेको जानकारी सभामुख देवराज घिमिरेलाई पनि गराइसकेका छन् ।

फौजदारी अभियोगमा छानबिन गर्नुपर्ने व्यक्तिलाई महासचिव बनाउने अडानमा सभामुख–अध्यक्ष

संघीय संसद्का महासचिव भरत गौतमको कार्यकाल ९ महिना बाँकी रहँदा नै उनलाई राजीनामा गर्न लगाएर प्रतिनिधिसभाका सचिव रहेका पाण्डेयलाई कार्यवाहक महासचिव बनाइएको थियो ।

संसद्का कार्यवाहक महासचिव पाण्डेयको नागरिकतामा गृहको ‘इन्क्वाइरी’ 

कार्यवाहक दिँदा संसद् सचिवालयका उच्च अधिकारी उनीसँग असन्तुष्ट बनेका थिए । राजनीतिक नियुक्तिबाट सचिव भएको र सचिव पदबाट राजीनामा नदिइ महासचिवमा नियुक्तिको सिफारिस गरिनु नै कानुनविपरीत भएको विज्ञको टिप्पणी छ । 
 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १८:४७
प्रतिक्रिया दिनुहोस्