site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
२२ वर्षपछि किन उठ्दैछ ‘दरबार हत्याकान्ड’ प्रसंग, फेरि छानबिन होला ?

काठमाडौं । वीरगन्जमा शनिबार भएको एक कार्यक्रममा लिखित सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले २२ वर्षअघि भएको दरबार हत्याकान्डको प्रसंग निकाले ।

उनले गरेको सम्बोधनमा भने, “जे १९, २०५८ मा घटेको विनासकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहाली लाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाइएको थियो । हामी र हाम्रो परिवारलाई घातक प्रहारहरू पनि गरेका थिए । सत्य सधैँ सत्य हुन्छ । असत्यको विजयी कहिले हुँदैन । हाम्रो माझ प्रत्यक्षदर्शीहरु हुँदा हुँदै अज्ञानता र छलले अझ पनि हामी बहकीरहेका छौँ । यो अन्यायपूर्ण मात्र होइन दूर्भाग्यपूर्ण पनि हो ।”

राजनीतिक दलहरूको चर्को आलोचना गर्दै आफ्ना सम्बोधन गरिरहने पूर्वराजाले हत्याकान्डको करिब २२ वर्षपछि फेरि दरबार हत्याकान्डको प्रसंग निकाले ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसबेला आफ्नो परिवारलाई लाञ्छना लगाइएको भन्दै सत्य सधैँ सत्य हुने भएकाले त्यसपछि पनि लगाइएका लाञ्छना दरबार हत्याकान्डका जस्तै हुन् भन्ने आसयले पूर्वराजाले धारणा राखेको उनी निकटका एक अधिकारीले बाह्रखरीसँगको कुराकानीमा बताए ।

शाहले त्यतिमात्रै होइन श्रीपेचको पनि प्रसंग अघि सारे । आफूले श्रीपेच सुरक्षित राख्न राष्ट्रलाई सुम्पिइएको बताए ।

“बितेका १५ वर्षपछि आज त्यो असन्तोष, चासो, चिन्ता, आक्रोश सर्वत्र छताछुल्ल छ । आफ्नो गरिमापूर्ण राजपाटबाट वियुक्त हुनुपर्दा मैले व्यक्त गरेका राष्ट्रियता, प्रजातान्त्रिक प्रतिवद्धता तथा देश र जनताको उत्दानमा क्रियाशील हुने भावनालाई मैले आज पनि सान्दर्भिकरुपमा सम्झिरहेको छु । त्यसै आसयअनुरुप मैले चिरकाल पर्यन्त सुरक्षित रहोस् भनेर आफ्नो श्रीपेच राष्ट्रलाई सुम्पिएको थिएँ ।”

त्यसको भोलिपल्ट एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा शाहको भनाइलाई संकेत गर्दै दरबार हत्याकान्डमा तत्कालीन युवराज दीपेन्द्रको हात नरहेको जिकिर गरे । दरबार हत्याकान्ड दीपेन्द्रले गरेको भन्ने आरोप ‘वाहियात’ भएको ओलीको टिप्पणी थियो ।

“यहाँ हत्याकान्ड भइसक्दा दुनियाँभरि दीपेन्द्रको प्रेम कहानी भनेर... । दीपेन्द्रले हत्याकान्ड गर्‍यो भनेर यस्ता वाहियात कुराका पछाडि पनि नेपाली जनता कुद्नुहुन्छ ?,” ओलीको टिप्पणी थियो ।

ओलीले राजाको जेठो छोरामात्रै राजा हुने भन्दै ज्ञानेन्द्र शाहलाई ‘कुशको बाहुन’ जस्तै भएको टिप्पणी गरे ।

“ज्ञानेन्द्र शाह भनेको राजा होइन । बाहुनले बाहुन भनेर टपरीको चामलमाथि कुशको बाहुन राख्छ नि ती त्यस्तै कुशका राजा हुन् । कुशको बाहुन । यस्तो कुरामा के बहस गरिरहने ?,” ओलीको प्रतिक्रिया थियो ।

दरबार हत्याकान्डबारे ओलीले राखेको धारणा

दीपेन्द्रले आफैं मरेपछि हान्यो ? एउटा राजा हुन लागेको मान्छे त्यसरी मर्छ ? अगाडिबाट पनि उसैले गोली हान्छ, पछाडिबाट पनि गोली हान्छ ? तीनवटा राइफल एकै जनाले बोकेर कुद्छ ? यस्ता कुरा पनि पत्याएर हिँड्ने ? लखेट्ने पनि उही मान्छे छ, भर्‍याङ चढ्दा माथिबाट ड्याम्म गोली हानेर टाउको उछिट्याउने उही मान्छे छ, यस्तो पनि हुन्छ ? १९ गतेको घटना सात दिनपछि २६ गते त्यहाँ जाँच आयोग जाँदा पानी परिरहेको थियो त्यो बेला, एउटा ओभानो टोपी दीपेन्द्र मारिएको भनिएको पोखरीको छेउमा तैरिरहेको थियो । पानी परिरहेको छ त्यस्तो बेलामा दीपेन्द्रको टोपी डुबेको पनि छैन, भिजेको पनि छैन । जाँच आयोग जाँदा भर्खर राखेको टोपी पानी पनि भरिएको छैन । त्यस्तो पनि नाटक हुन्छ ? यहाँ हत्याकान्ड भइसक्दा दुनियाँभरी दीपेन्द्रको प्रेम कहानी भनियो... । दीपेन्द्रले हत्याकान्ड गर्‍यो भनेर यस्ता वाहियात कुराका पछाडि पनि नेपाली जनता कुद्नु हुन्छ ? त्यो एउटा भयानक षड्यन्त्र थियो । त्यस षड्यन्त्रले तत्काल राजा रानी, युवराज, अधिराजकुमार, अधिराजकुमारी हत्या गर्‍यो । राजतन्त्र समाप्त भयो । राजाको जेठो छोरो राजा हुन्छ । जेठो त के कान्छो, छोरीसमेत मारिइसकेपछि राजतन्त्र समाप्त भयो । त्यतिबेलाको सरकारको कमजोरी हो । फेरि राजतन्त्र भनेर ज्ञानेन्द्र शाहलाई ल्याएर सजाउने राख्ने काम भयो । ज्ञानेन्द्र शाह भनेको राजा होइन । बाहुनले बाहुन भनेर टपरीको चामलमाथि कुशको बाहुन राख्छ । ती त्यस्तै कुशको राजा हुन् । कुशको बाहुन । यस्तो कुरामा के बहस गरिरहने ? राष्ट्रिय अन्तराष्ट्रिय परिस्थिति त्यस्तो रह्यो । हाम्रा पार्टीका महासचिव माधवकुमार नेपाल आफैं छानबिन समितिमा बस्नु भएको थियो । हामीले फिर्ता गर्‍यौँ । यो ड्रामामा तिमी सामेल नहोऊ भनेर

दरबार हत्याकान्डसम्बन्धी छानबिन समितिले त्यसबेला पोखरीमा टोपी तैरिइरहेको फेला पारे पनि ओभानो भने उल्लेख गरेको छैन ।

छानबिन समितिले आफ्नो प्रतिवेदनमा भनेको छ, “दीपेन्द्र सरकारको शरीर जहाँ परिररहेको थियो भन्ने पाइयो त्यसको देब्रेपट्टि रहेको पोखरीको अर्को भागमा कम्ब्याट टोपी पानी माथि तैरिरहेको छ ।”

समितिले भने त्यसबेला तयार पारेको प्रतिवेदनमा तत्कालीन युवराज दीपेन्द्रले नै सबै परिवारलाई गोली हानेको उल्लेख गरेको छ । समितिले त्यसबेला घटनास्थलबाट ३१ प्रकारका भौतिक चिजहरु फेला पारेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

समितिले त्यसबेला घटनास्थलको अवलोकन, भौतिक चिजको संकलन, घटना देख्ने प्रत्यक्षदर्शी, पीडित, दरबारका कर्मचारीलगायतका व्यक्तिहरुसँग सोधपुछ गरेर प्रतिवेदन तयार पारेको थियो । समितिले १० जनाको ज्यान जानेगरी भएको हत्याकान्डमा दीपेन्द्रकै हात रहेको ठहर गरेको थियो ।

हत्याकान्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुती, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी, अधिराजकुमारी शारदा राज्यलक्ष्मी, शाहजादी जयन्ती, कुमार खड्गविक्रमको २०५८ जेठ १९ गते राति नै मृत्यु भएको थियो ।

युवराज दीपेन्द्रको जेठ २२ गते मृत्यु भएको थियो भने सोही दिनमै वीरेन्द्रका कान्छा भाइ धीरेन्द्रको पनि उपचारका क्रममा मृत्यु भएको थियो । दरबार हत्याकान्डका क्रममा कोमल राज्यलक्ष्मीदेवी शाह, शोभा राज्यलक्ष्मी शाही, कुमार गोरखशमशेर जबरालगायतका घाइते भएका थिए ।

ओलीले आक्रोश पोखेको भोलिपल्टै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकान्डको छानबिन हुने चेतावनी दिए ।

“पूर्वराजाले जे बोलेका छन्, बोल्नै नहुने कुरा बोलेका छन्,” प्रधानमन्त्री दाहालको भनाइ थियो, “दरबार हत्याकान्डबारे फेरि एकपल्ट छानबिनतिर सरकार अघि बढ्छ ।”

किन उठिरहेको छ त दरबार हत्याकान्डसम्बन्धी प्रसंग ?

जब जब नेपालमा राजनीतिक संकट देखा पर्छ त्यसबेला ठूला घटना चर्चामा ल्याइन्छ । एमालेका तत्कालीन महासचिव मदन भण्डारीको दुर्घटना होस् या दरबार हत्याकान्ड बेला बेला आउँछन् आफैं सेलाउँछन् ।

फेरि दरबार हत्याकान्डसम्बन्धी प्रसंग किन आइरहेको होला त ?

प्राध्यापक डा. लोकराज बराल भन्छन्, “ज्ञानेन्द्र शाहले सहानुभूति खोजिरहेका छन् । दलहरु अनावश्यक बहसमा लागिरहेका छन् ।”

बरालले बाह्रखरीसँग गरेको कुराकानीको सम्पादित अंश

छानबिन भन्ने यो बेकारको कुरा हो । २२ वर्ष भइसक्यो । ज्ञानेन्द्रले किन यतिबेला आएर भन्नुको अर्थ के ? यस बेलासम्म के हेरेर बसे ? यसमा केपी ओलीले फेरि जवाफ दिनुभयो ।

त्यसरी ठोकेरै नभनेको भए पनि हुन्थ्यो  । हुन त त्यसबेलाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पनि कमजोरी हो त्यसबेला ।  त्यसबेला बनाएको आयोगले दीपेन्द्रले नै मारेको भनेको छ । त्यतिबेलाका गवाहीहरुले पनि दीपेन्द्रले नै मारेको भनेका छन् ।

यस्तो कुरा ‘कन्स्पिरेसी थ्योरी’ बाट हेर्ने र सनसनी बनाउने प्रचलन अमेरिकाका तत्कालीन राष्ट्रपति जोन अफ केनेडीको हत्यादेखि अहिलेसम्म चलिरहेको छ ।

जोन अफ केनेडीलाई कसले मारेको भनेर अहिलेसम्म भन्न सकेको छैन । मदन भण्डारीको हत्या हो र षडयन्त्र गरियो भनियो । त्यही भन्ने केपी शर्मा ओली गृहमन्त्री भए, पटक पटक प्रधानमन्त्री भए छानबिन त भएन, भारतमा सुवासचन्द्र बोसको बारेमा त्यस्तै छ, यस्तो कुरा चलिरहन्छ । केही पनि होइन जस्तो लाग्छ मलाई  ।

ज्ञानेन्द्र शाह यतिखेर सहानुभूतिको खोजीमा छन् । राजतन्त्र फर्किइहाल्छ कि भन्ने दिवास्वप्न देखिरहेका छन् । उनलाई दोष लगाएको हुनाले हामीलाई दोष लगाइयो ह्याँ त्याँ भनिएको छ । यसमा दलहरु अनावश्यक बहसमा तानिएका छन् यो बेतुकको कुरा हो ।


 

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्