site stats
बाह्रखरी :: Baahrakhari
देश
क्यान्सरको उपचारमा प्रभावकारी ‘कार–टी सेल’को नेपालमा पहिलोपटक सफल परीक्षण 

काठमाडौं । क्यान्सरको उपचारमा प्रयोग हुने प्रभावकारी उपचार पद्धति ‘कार–टी सेल’ थेरापी नेपालमा पनि भित्र्याइने भएको छ । सेन्टर फर रिजेनरेटिभ मेडिसिन (सीआरएम) नेपालले कार–टी सेलको नेपालमै पहिलोपटक सफल परीक्षण गरेको छ ।

यो विकसित मुलुकहरूमा प्रयोग भइरहेको नवीनतम उपचार विधि हो । अमेरिकाको नेसनल क्यान्सर इन्स्टिच्युट र पेन्सिलभेनिया विश्वविद्यालयमा गरिएको कार–टी सेल थेरापीको अध्ययनमा ९० प्रतिशतभन्दा बढी ‘बी–सेल’ क्यान्सर बिरामी पूर्ण रूपमा निको भएको पाइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कलेजोसहित पाँच प्रकारका रक्त क्यान्सरमा यो विधि प्रयोग हुने एस्ट्राजेनेका फार्मास्युटिकल्सका अंकोलोजी विभाग प्रमुख एवं सीआरएम नेपालका सल्लाहकार डा. सञ्जीवन गौतमले जानकारी दिए । कार–टी सेल उपचार पद्धतिको प्रयोग एएलएल र एनएचएल क्यान्सर बिरामीका निम्ति प्रभावकारी हुने उनको भनाइ छ ।

“यसमा प्रयोग हुने रिएजेन्ट र उपकरण निकै महँगा र जटिल प्रविधियुक्त हुन्छन् । तीनदेखि पाँच करोडसम्म खर्च लाग्ने कार–टी सेल थेरापीलाई १० गुणा कम लागतमा उपलब्ध गराउने सीएमआर नेपालको उद्देश्य छ,” डा. गौतमले भने ।

यो विधि नेपालमा प्रयोगमा ल्याउँदा रक्त क्यान्सरका बिरामी लाभान्वित हुने आकलन गरिएको छ ।

कार–टी सेल थेरापी क्यान्सर मात्र नभई कलेजो, मधुमेह, स्वप्रतिरक्षा तथा मुटुसम्बन्धी रोगहरूमा पनि प्रभावकारी देखिएको वीर अस्पतालका वरिष्ठ कलेजो रोग विशेषज्ञ प्रा. डा. सुधांशु केसीले बताए ।

नेपालमा कार–टी सेलको सफल परीक्षणका निम्ति डा. केसी, डा. गौतमलगायत विज्ञको टिमले पछिल्लो एक वर्षदेखि काम गर्दै आएको थियो । यो उपचार पद्धतिलाई कानुनी प्रकिया र जनशक्तिको व्यवस्थापन गरी प्रयोगमा ल्याउन अझै एक वर्ष लाग्ने सीआरएम नेपालले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  २१:२१
प्रतिक्रिया दिनुहोस्