site stats
बाह्रखरी :: Baahrakhari
देश
दोलखाको सहकारीबाट ३२ लाख ‘चोरी’
प्रतीकात्मक तस्बिर ।

दोलखा । दोलखाका सहकारीमा लापरबाही बढ्दा नागरिकले बचत गरेको रकम जोखिममा परेको छ  ।  केही दिनअघि  दोलखाको मेलुङ गाउँपालिका–१, पवटीमा एक सहकारी चोरी भएको भन्दै स्थानीय बासिन्दाले प्रशासनसमक्ष उजुरी गरेका छन् ।

चोरी भएको भनिएको हाम्रो सूर्याेदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ३२ लाख ८७ हजार २७६ रुपैयाँ हराएको सहकारी सञ्चालकले प्रहरीलाई जानकारी गराएका छन् । प्रहरीले सोही सहकारीको बचत सहायक पदमा कार्यरत अहेन्द्र भुजेल र घरधनीलाई पक्राउ गरी सोधपुछपछि छाडेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दोलखाकै मेलुुङ गाउँपालिका–६ मा रहेको गाउँघर साना किसान कृषि सहकारी संस्था लिमिटेडमा पनि व्यवस्थापकले एक करोड ५३ लाख हिनामिना गरेको भन्दै बचतकर्ता आक्रोशित छन् । उक्त सहकारीका अधिकारीले त्यसको छानबिन गरिरहेको जनाएका छन् ।

हाल गाउँघर साना किसान कृषि सहकारी संस्था लिमिटेडमा रकम हिनामिना गर्ने व्यवस्थापक भूप चापागाईंलाई सञ्चालक समितिले निलम्बन गरी छानबिन गरिरहेको जनाइएको छ । सहकारीका अध्यक्ष श्रीराज पोखरेलले चापागाईंले हिनामिना गरेको रकम असुलउपरका निम्ति प्रक्रिया थालिएको बताउ ।

दोलखाकै कालिञ्चोक गाउँपालिका–६ मा रहेको जनचाहना बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा पनि रकम हिनामिना भएको बताउँदै स्थानीयवासीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका थिए । आयोगले पालिकालाई छानबिन गर्न पत्र लेखेको छ । स्थानीय बचतकर्ताका अनुसार, त्यहाँ पनि २० लाख रुपैयाँभन्दा बढी रकम सञ्चालकले हिनामिना गरेको आरोप छ ।

सहकारीमा भएको चोरी र रकम हिनामिनाबारे जिल्ला प्रहरी कार्यालयले सूक्ष्म ढंगले अध्ययन थालेको दोलखाका प्रहरी प्रमुख दीपक खड्काले बताए । रासस

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १८:५३
प्रतिक्रिया दिनुहोस्