site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पीडितले सम्पत्ति बेच्ने प्रक्रिया अघि बढाएपछि देवकुमारले भने– म आफैँ बेचेर फिर्ता गर्छु

पोखरा । इमेज सहकारी बचत संघर्ष समितिले फरार रहेको ढोरपाटनका मेयर देवकुमार नेपालीको सम्पत्ति बिक्री गर्ने भन्दै गत माघ १२ गते सार्वजनिक सूचना निकाल्यो ।

पीडितहरूले नेपाली सम्पर्कविहीन भएपछि बागलुङ, गलकोट, बुर्तिबाङ र पोखरामा छुट्टाछुट्टै इमेज बचत पीडित संघर्ष समिति गठन गरेका थिए । उनीहरूले आफ्नो रकम फिर्ताका लागि इमेज बचत तथा ऋण सहकारीलाई ब्युताउने भन्दै बागलुङमा माघ ६ गते र पोखरामा माघ १० गते विशेष साधारण सभा गरी नयाँ सञ्चालक समितिसमेत गठन गरेका थिए ।

यो समितिले इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङ तथा पोखराका संस्थापक अध्यक्ष देवकुमार नेपाली र उनको श्रीमती छेला नेपालीको नाममा देशका विभिन्न भागमा रहेका सम्पत्तिको मूल्यांकनसमेत गरेर बिक्रीका लागि सूचना निकालेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संघर्ष समितिका संयोजक दिलबहादुर कार्कीका अनुसार फोनमार्फत केही व्यक्तिले नेपालीको सम्पत्ति खरिदमा चासो देखाएका छन् । तर, प्रक्रियामा भने गइसकेको छैन ।

नेपाली दम्पतीको नाममा काठमाडौंमा ७५ करोड, पोखरामा ४५ करोड, बागलुङमा २५ करोड र ढोरपाटनमा ८० करोड बराबरको सम्पत्ति रहेको उल्लेख गर्दै समितिले बिक्रीका लागि सार्वजनिक सूचना जारी गरेको थियो ।

सम्पत्ति लिनका लागि २५ प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्ने, भौतिक संरचना ६ महिनाभित्र रजिस्ट्रेसन गर्नुपर्ने र बचतकर्ता तथा सेयर सदस्यको हकमा आफूले सहकारीमा जम्मा गरेको बचत प्रमाणका आधारमा सावाँ ब्याज रकम कट्टी गरिसकेपछि मात्र भुक्तानी सहुलियत प्राप्त हुने सर्तनामा राखिएका छन् ।

इमेज सहकारी पीडितले आफ्नो सम्पत्ति बेच्न प्रक्रिया थालेको एक हप्तापछि फरार रहेका ढोरपाटन नगरपालिकाका मेयर नेपालीले माघ १९ गते अर्को विज्ञप्ति जारी गर्दै आफ्नो सम्पत्ति सार्वजनिक गरेका छन् ।

उनी पछिल्लो ९ महिनादेखि सम्पर्कविहीन छन् । फरार भनिएका उनै नेपालीले माघ १९ गतेको मितिमा एक अपिल सार्वजनिक गर्दै आफू र श्रीमतीका नाममा रहेको सम्पूर्ण चलअचल सम्पत्ती सहकारीको नाममा गरिदिने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

गत जेठ ५ गतेदेखि सम्पर्कविहीन बनेका नेपालीले मंसिर ५ गते सामाजिक सञ्जालमार्फत पीडितहरूको बचत फिर्ता गर्न आफ्नो सम्पत्ति बेच्न तयार रहेको जनाएका थिए ।

पुनः उनले सम्पूर्ण सम्पत्ति सहकारीका पीडितहरूलाई हस्तान्तरण गर्न तयार रहेको भन्दै सहज वातावरण सिर्जना गरिदिन आग्रह गरेका छन् । उनले श्रीमती र आफ्नो नाममा रहेका भौतिक संरचनाको विवरण कित्ता नम्बरसहित सार्वजनिक गरेका छन् ।

“हाम्रो नियतका कारण होइन, वित्तीय क्षेत्रमा आएको संकटका कारण सहकारीमा समस्या आएको हो । सहकारीमा आएको समस्याका कारण हाम्रो नियतमा समेत शंका उत्पन्न भएको छ । सहकारीमा बचत गरेका सदस्यहरूको बचत रकम फिर्ता गर्ने कुरामा आज पनि हामी उत्तिकै प्रतिबद्ध छौँ, संवेदनशील छौँ,” उनले लेखेका छन् ।

उनले घरजग्गाहरू बिक्री गरी बैंकको ऋण र सदस्य बचतकर्ताहरूको बचत फिर्ता गर्ने कुरामा आफूहरूलाई सहयोग गर्नका लागि पीडित सेयर सदस्य बचतकर्ताहरू, सहकारी विभाग, सहकारी रजिस्ट्रारको कार्यालय पोखरा, गण्डकी प्रदेश सरकार, सम्पूर्ण स्थानीय तहहरू, जिल्ला प्रशासन कार्यालय बागलुङ, जिल्ला प्रहरी कार्यालय बागलुङ, अदालत, राजनीतिक दलहरू, नागरिक समाज, सहकारी अभियानकर्मीहरूसँग अपिल गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  २१:००
प्रतिक्रिया दिनुहोस्