site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘जनताले औँला ठडाउने मौका पाए’

काठमाडौं । नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले पार्टीले एकताको सन्देश दिन नसक्दा जनताले औँला ठडाउने मौका पाएको बताएका छन् । सोमबार ललितपुरको गोदावरीमा महासमिति बैठकको उद्घाटनसत्रमा उनले कांग्रेसले एकताको सन्देश दिन ढिला गर्न नहुनेमा जोड दिए ।

“आज नीति अधिवेशनको रूपमा हामी महासमिति बैठकमा उपस्थित छौँ । यसपालिको नीति अधिवशेनले कांग्रेस एकताको रूपमा अघि बढेको छ भन्ने सन्देश दिनुपर्छ,” उनले भने, “अहिले हामीलाई जनताले हात ठडाएको अवस्था छ । विभिन्न माध्यमबाट गाली गर्ने, हामीबीचमा भएको कुरामा प्रश्न जनताले उठाएका छन् । यो यसलाई निमिट्यान्न पार्नुपर्छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

श्रेष्ठले अरू दलले मिसन ८४ भनेर बजारमा हल्ला गरिरहँदा कांग्रेसले एकताको सन्देश दिन सके आउँदो निर्वाचनमा पनि पहिलो दल बन्ने बताए । “अन्य दलले ८४ ८४ भन्ने हल्ला बजारमा चलाएका छन् । हामी एक भए ८४ मा त्यसरी पहिलो पार्टी हुन्छौँ । तर, यो मञ्चबाट एकताको सन्देश दिनुपर्ने अवस्था छ,” उनले थपे ।

स्वागत मन्तव्यका क्रममा उनले ललितपुर जिल्लाले एकताको सन्देश दिँदा गएको स्थानीय तह निर्वाचनमा पार्टीले ५६ प्रतिशत मत ल्याएको उल्लेख गरे । पार्टीले ८४ को निर्वाचनमा ७५ प्रतिशतमाथि मत ल्याउने उनको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १४:५३
प्रतिक्रिया दिनुहोस्