site stats
बाह्रखरी :: Baahrakhari
देश
कोसीमा ‘हात्ती उपद्रो’ : क्षतिपूर्तिका लागि निवेदनको चाङ

विराटनगर । अवस्था नबिग्रिएको हुन्थ्यो भने यतिबेला झापाका किसान विष्णु कट्टेलको भकारीमा ३० मन अगुवा धान भण्डारण गरेको हुनेथियो । धान कुटाएर चामल निकाल्ने बेला नै हुनेथियो । तर, १२ कठ्ठामा लगाएको अगुवा धान भित्र्याउन पाएनन् । गत भदौमा ९ वटा हान्जा (बथान)का जंगली हात्तीले एकै रातमा खेतको सारा धान सखाप पारिदिए । त्यसदिन हात्तीले कचनकवल गाउँपालिका–३, दुर्भाभिट्टा क्षेत्रका अन्नबाली नष्ट गरे ।

“लहलह बाला झुलेका थिए, राम्रो फलेको थियो तर हात्तीले सबै धान खाइदिए,” उनले भने, “धपाउन त गइयो तर पुरै बिगार नगरुञ्जेल हात्ती टसमस गरेनन् ।” त्यो दिन जंगली हात्तीको बथानले पोटाउँदै गरेको धान माडेर नष्ट गरिदिए । केरा, जै घाँस, अन्नपात खाइदिए । कट्टेल अहिले जंगली जनावरले बालीनालीमा गरेको क्षतिको राहत रकम पाइने आशमा प्रदेशस्थित वन मन्त्रालय धाइरहेका छन् । तर, रकम पाइने अत्तोपत्तो छैन ।

उनी जस्तै झापाको मेचीनगर नगरपालिकाका विकास प्रधानले पनि क्षतिपूर्ति दाबी गर्दै झापा वन डिभिजन कार्यालयमा निवदेन दर्ता गराएको एक वर्ष भयो । तर, धाउने कामबाहेक थप प्रगति हुन सकेको छैन । “वनका कर्मचारीबाट संघीय सरकारबाट पहल भएको छैन भन्ने जवाफ आउँछ,” उनले भने, “माथिकै सरकारले त हेरेन, स्थानीय सरकारले के हेर्ला ? वर्षभरि खान पाइएला भनेर लगाएको मकै हात्तीको बथानले खाइदियो ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बालीनाली तथा पशुधनमा जंगली जनावरले क्षति गरे कानुनअनुसार किसानले राहत रकम प्राप्त गर्ने व्यवस्था छ । तर, निवेदन दर्ता गराएपनि किसानले क्षतिपूर्ति भने पाएका छैनन् । प्रधानले भने, “कागजपत्र र निवेदन बुझाउँदा दुई महिनाभित्र राहत आउँछ भनेको थियो तर माथिबाट नै नआएको जवाफ पाएँ ।” 

Hatti-le-gareko-akraman-(1)-(1)-1708421942.jpg
 

वन कार्यालयमा किसानले सबै रित र प्रक्रिया पुर्‍याएर दिएको निवेदनको चाङ छ । क्षतिको विवरण बुझाउन सर्जमिन, मुचुल्का उठाएर प्रक्रियागत ढंगले पठाउनु पर्छ । कोसी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयमा निवेदन आउने क्रम बढ्दै गएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका सचिव विशाल घिमिरे भन्छन्, “क्षतिपूर्तिको माग गर्दै हामीकहाँ पीडितको निवेदन छ, संघीय सरकारबाट नै प्रक्रिया रोकिएको अवस्था छ ।” 

कतिले पाउनु छ राहत ?
कोसी प्रदेश वन मन्त्रालयका अनुसार करिब एक करोड ८५ लाख सात हजार राहत रकम भुक्तानी गर्न फाइल पेस भइसकेको छ । तर, संघीय सरकारबाट बजेट निकास नभएकाले अन्यौल छ । 

तथ्यांकअनुसार झापामा मात्र एक वर्षयता ५१५ घटनामा एक करोड ८२ हजार रूपैयाँ बराबरको राहत रकम भुक्तानी गर्न बाँकी छ । यसैगरी सुनसरीमा ५० लाख, मोरङमा ३२ लाख ४३ हजार ५५० र इलाममा एक लाख एक हजार ३८ रूपैयाँ पीडितले पाउनु पर्नेछ । “फाइल पेस भएको छ तर संघीय सरकारले जारी गरेको निर्देशिका बमोजिम प्रदेश सरकारलाई बजेट निकासा नगराइँदा समस्या भएको हो,” घिमिरेले भने । 

के छ कानुनी प्रबन्ध
निर्देशिका परिवर्तन नहुँदासम्म असारअघि कोसीटप्पु वन्यजन्तु आरक्षबाट राहत रकम उपलब्ध हुने गरेको थियो । परिवर्तन भएसँगै प्रदेश वन मन्त्रालयमार्फत डिभिजन वन निर्देशनालयबाट भुक्तानी दिने भन्ने निर्णय सरकारले गरेको छ । तर, संघीय वन मन्त्रालयले बजेट निकासा नगर्दा राहत वितरणमा समस्या भएको प्रदेशस्थित वन मन्त्रालयले जनाएको छ । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालले मन्त्रिपरिषद्ले प्रदेशबाट निकासा हुने भन्ने निर्णय गरेको थियो तर प्रदेशले बजेटमा नराख्दा समस्या भएको बताए । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा ३३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले जारी गरेको निर्देशिकामा राहत उपलब्ध गराउने व्यवस्थाबारे उल्लेख छ । बुँदा नं ४ मा “यस निर्देशिका बमोजिम डिभिजन वन कार्यालयले राहत रकम उपलब्ध गराउँदा प्रदेश वन निर्देशनालयमार्फत प्रदेशको वनसम्बन्धी विषय हेर्ने मन्त्रालयबाट निकासा लिइ उपलब्ध गराउनु पर्नेछ” भन्ने व्यवस्था उल्लेख छ । तर, वन मन्त्रालयका अनुसार यो वर्ष माघ मसान्तसम्म हात्तीको आक्रमणमा परी कोसी प्रदेशमा ६ जनाले ज्यान गुमाइसकेका छन् । खासगरी झापा, मोरङ र सुनसरीमा हात्तीको उपद्रो  अधिक छ । आक्रमणमा मृत्यु भए सरकारले मृतक परिवारलाई १० लाख रुपैयाँ राहत दिने व्यवस्था छ । 

वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका बमोजिम मानवीय क्षति भएमा २० हजारदेखि अधिकतम १० लाख, पशुधनको क्षतिका लागि १० हजारदेखि ३० हजार र खाद्यान्न बालीको क्षतिका लागि १० हजारसम्म उपलब्ध गराउने व्यवस्था छ । 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  ०८:३८
प्रतिक्रिया दिनुहोस्