site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
केन्द्रीय कमिटीमा ओलीले भने– मेरो आलोचना भए पनि गर्नू , बक्रदृष्टि राखिँदैन

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ बैठक आजबाट सकिएको छ । पहिलेका तुलानामा पार्टीको आन्तरिक जीवनमा देखिएका समस्याबारे गहन बहस गर्दै बैठक सकिएको हो ।

एमालेका नेता विशाल भट्टराई पार्टीमा देखिएका समस्याबारे खुलेर छलफल भएको बताउँछन् ।

“खुलेर बहस भयो । केन्द्रीय कमिटीका सदस्यहरूले बोल्ने काम त भयो नै, केही प्रस्तावमा सबैले लिखित नै राखेका छौँ,” उनी भन्छन्, “पार्टीलाई कसरी सुदृढ बनाउने र ०८४ मा बहुमत ल्याउने भन्नेमा केन्द्रित रहेर बहस गर्‍यौँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकले २२ वटा समसामयिक प्रस्ताव पारित गरेको छ ।

बैठकको समापनमा अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वको आलोचना गर्न निर्देशन दिएका छन् । उनले आफूले गरिरहेका क्रियाकलापमा असन्तुष्टि भए लिखितरूपमै भए पनि सुझाउन आग्रह गरेका छन् ।

“नेतृत्व स्वेच्छाचारी हुन्छ । आलोचना भए रिसाउँछ कि भन्ने लागेको भए गलत हो । हामीविरुद्ध आलोचना गर्न सक्नुहुन्छ,” उनको भनाइबारे एक नेताले भने, “लेखेर पनि दिन सक्नुहुन्छ । सचिवालयका साथीमार्फत पठाउन सक्नुहुन्छ । त्यसबापत् कुनै बक्रदृष्टि राखिँदैन । ढुक्कले आलोचना गर्नु पाउनुहुन्छ, मेरो वा अरू नेताको पनि ।”

त्यस्तै, बैठकमा महासचिव शंकर पोखरेलले नेताहरूले राखेको प्रस्तावमा आर्थिक र नैतिक आचरणमा नैतिक र कानुनी बन्धन तोडेको विषयमा पनि कारबाही हुने बताएका छन् ।

उनले कुन तहमा समस्या भएको त्यहीबाट समाधान खोजिने बताएका छन् । केन्द्रीय कमिटी बैठकमा यस्ता समस्या समाधानका लागि शुद्धीकरण माथिबाट नै खोजिनुपर्ने सुझाव आएका छन् । 

“जुन तहमा समस्या हो, त्यही तहबाट समाधान खोज्न प्रयास गर्ने हो,” उनले बैठकमा भनेका छन् ।

नेता कार्यकर्ता आर्थिक, नैतिक दृष्टिले स्वच्छ हुनुपर्ने भनाइ उनको छ । 

एमालेले तल उत्पन्न भएका समस्या हेरेर केन्द्रमा सिफारिस गर्ने निर्णय पनि गरेको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  २२:२८
प्रतिक्रिया दिनुहोस्