site stats
बाह्रखरी :: Baahrakhari
देश
५७ लाख बालबालिका लक्षित दादुरा–रुबेला खोप अभियान चलाइँदै 
फाइल तस्बिर ।

काठमाडौं । सरकारले आउँदो फागुन १३ गतेदेखि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्दै छ । अभियानअन्तर्गत ५७ लाख ४२ हजार ९९३ जना बालबालिकालाई खोप दिने लक्ष्य राखिएको छ । अभियान सफल पार्न स्वास्थ्यकर्मी र स्वयंसेवक गरी करिब १० हजार जनशक्ति खटाइने स्वास्थ्य सेवा विभागअन्तर्गतको खोप शाखाले जनाएको छ । 

९ देखि १५ वर्षसम्मका बालबालिकालाई खोप 
फागुन १३ देखि चैत ७ गतेसम्म चल्ने अभियानमा सरकारले ५७ लाख ४२ हजार ९९३ बालबालिकालाई खोप दिने लक्ष्य राखेको छ । दादुरा–रुबेलाविरुद्धको खोप दिने दुई वर्ग छुट्याइएको छ । 

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा सरकारले यसअघि नै सो खोप दिइसकेको छ । फागुन १३ देखि सञ्चालन हुने अभियानमा तराईका २१ र काठमाडौं उपत्यकाका तीन गरी २४ जिल्लामा बालबालिकालाई खोप दिइनेछ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जसमा झापा, मोरङ सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, परासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, काठमाडौं, भक्तपुर र ललितपुर छन् । 

यी जिल्लामा दादुराको जोखिम बढी भएकाले १५ वर्षसम्मका बालबालिकालाई खोप दिन लागिएको हो । कोभिडकालमा भएको एक सर्भेक्षणमा ती जिल्लाका १५ वर्षमुनिका बालबालिकामा रोग प्रतिरोधी क्षमता कम भएको पाइएको खोप शाखा प्रमुख डा. अभियान गौतमले बताए ।  यीबाहेक अन्य जिल्लामा ९ देखि १५ महिनासम्मका बाललिकालाई खोप दिइने खोप शाखाले जनाएको छ  । 

४८ हजार बढी खोप केन्द्र 
करिब एक महिना चल्ने अभियानका लागि सरकारले ४८ हजार ७९८ वटा खोप केन्द्र तोकेको छ । बढी जोखिममा रहेका २४ जिल्लामा भने विद्यालयबाटै खोप दिइने डा. गौतमले बताए । 

अन्य जिल्लामा भने नियमित खोप दिइने स्थानहरू र बस्तीको पायक पर्ने स्थानलाई खोप केन्द्र तोकिएको छ । आश्रम, इँटा भट्टा, बाल मन्दिर आदि स्थानको नजिक पारेर केन्द्र तोकिएको डा. गौतमले बताए । देशभर खोप अभियान सञ्चालन गर्न स्वास्थ्यकर्मी र स्वयंसेवक गरी ३० हजार बढी जनशक्ति खटाइने उनको भनाइ छ । 

छुटेको नियमित खोप पनि दिइने 
अभियानअन्तर्गत नियमित खोप छुटेका बालबालिकालाई पनि खोप दिइनेछ । १५ महिनाभित्र लगाउनुपर्ने नौवटा खोपका १८ मात्रामध्ये कुनै पनि खोप छुटेको भए सोही केन्द्रबाट उपलब्ध गराइनेछ । 

डी.पी.टी र हेप बी खोप सोही केन्द्रबाट दिइने र उपलब्ध नभए स्वास्थ्य संस्था रिफर गरिनेछ । खोप शाखाको तथ्यांकमा डी.पी.टी र हेप बी खोपका पहिलो मात्रा लगाउन लगाउन छुटेका बालबालिकाको संख्या एक लाख ६९ हजार ७९० छ । 
त्यस्तै, दुई लाख १२ हजार २८७ जनाले दोस्रो मात्रा नलगाएको र दुई लाख २५ हजार ९ बालबालिकाले तीनवटै मात्रा नलगाएको शाखाको तथ्यांक छ । 

यसकारण लगाउने दादुरा–रुबेलाको खोप 
नियमित खोपअन्तर्गत दुई खोप लगाएको भए पनि अभियानका बेला अनिवार्य दादुरा–रुबेलाको खोप लगाउन सरकारले अनुरोध गरेको छ । सन् २०२६ सम्ममा नेपालबाट दादुरा–रुबेला रोग निवारण गर्ने सरकारको लक्ष्य छ । गतवर्ष २१ जिल्लामा फैलिएको दादुराबाट एक हजार ३४९ जना संक्रमित भइ एक जनाको मृत्यु भएको थियो । 

यो संक्रमण एक व्यक्तिबाट १८ जनासम्ममा सर्नसक्ने डा. गौतम बताउँछन् । गर्भावस्थामा दादुरा–रुबेला संक्रमण भए शिशुमा अपांगता हुनसक्ने, मुटुमा समस्या हुने साथै शिशुको मृत्यु समेत हुनसक्ने जोखिम रहन्छ । दादुराले वाल्यवस्थामा पनि अपांगता तथा मृत्यु गराउनसक्छ । यसको निश्चित औषधि उपचार नभएकाले खोप नै संक्रमणबाट जोगिने एकमात्र उपाय भएको डा. गौतमले बताए । 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १७:५०
प्रतिक्रिया दिनुहोस्