site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘रेखा–पवन स्रष्टा सम्मान’को स्थापना

काठमाडौं । नेपाल स्रष्टा समाजको सञ्चालन तथा व्यवस्थापन रहने गरी ‘रेखा–पवन स्रष्टा सम्मान’को स्थापना गरिएको छ । जसमा सम्मान पत्रसहित नगद राशि एक लाख १११ रुपैयाँ प्रदान गरिने छ ।

साहित्यकार पवन आलोक र उनकी धर्मपत्नी रेखा कँडेलका नाममा छोराछोरी विमला कँडेल, रीता कँडेल, सुनील कँडेल, अनिता कँडेल र बुहारी माला कटुवाल कँडेलद्वारा स्थापित उक्त सम्मानको सञ्चालनका लागि हाललाई १५ लाख रुपैयाँको अक्षय कोषको व्यवस्था गरिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सोमबार अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा साहित्यकार आलोककी छोरी रीता कँडेलले आफूहरूले राष्ट्रिय वाणिज्य बैंकमा अक्षय कोषको स्थापना गरेको जानकारी दिँदै सम्मानको सम्पूर्ण व्यवस्थापन र सञ्चालन स्रष्टा समाजमा निहित रहने बताइन् । उनले यो सम्मान आउँदो वर्ष २०८१ को फागुन २४ गतेदेखि समर्पण गरिने जानकारी पनि दिइन् ।

उक्त अवसरमा वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले ‘रेखा–पवन स्रष्टा सम्मान’ पवित्र सम्मानका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्दै आशीर्वचन दिए ।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले ‘रेखा–पवन स्रष्टा सम्मान’ गरिमापूर्ण हुने जानकारी गराउँदै सम्मान विवादरहित रूपमा स्थापित हुने विश्वास दिलाए । सम्मान तथा पुरस्कारमा मौलाएको विकृति र सट्टापट्टा प्रवृत्तिबाट समाजका सम्मान तथा पुरस्कारहरू टाढै रहेको बताउँदै स्थापित सम्मान साहित्यमा कम्तिमा चार दशकको योगदान दिने व्यक्तित्वलाई प्रदान गरिने जानकारी दिए । यससम्बन्धी कार्यविधि छिट्टै निर्माण गरिने पनि उनले बताए ।

समाजका निवर्तमान अध्यक्ष साहित्यकार विधान आचार्यले पवन आलोकको साहित्यिक क्रियाशीलताको चर्चा गरे । पत्रकार सम्मेलनमा प्रा.डा. लक्ष्मणप्रसाद गौतम र चेतनाथ कँडेलले पनि बोलेका थिए ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  २१:४६
प्रतिक्रिया दिनुहोस्