site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपालका हिमाली भेगमा कहाँबाट आइपुगे मानिस ? सातौँ शताब्दीमा मुस्ताङमै बन्थ्यो छ्याङ

काठमाडौं । नेपालको उच्च हिमाली भेगमा बस्ने मानिसको प्राचिन इतिहासबारेको एक अध्ययनले विभिन्न नयाँ तथ्य सार्वजनिक गरेको छ । करिब डेढ दशक लामो खोज–अनुसन्धानले उच्च हिमाली उपत्यकामा मान्छे कसरी र कहिलेदेखि बसोबास गर्न थाले भन्ने इतिहास खोतलेको छ ।

अमेरिकाको हार्वर्ड र क्यालिफोर्निया युनिभर्सिटी र जर्मनीको म्याक्स प्लाङ्क इन्स्टिच्युटका पुरातत्वविद् एवं मोलिकुलर (आणविक) जीवविज्ञानको टोलीले यो खोज गरेको हो । अध्ययनले मुस्ताङ करिब तीन हजार वर्ष पहिले तिब्बत र दक्षिण एसियाबीच व्यापारिक केन्द्र हुनसक्ने देखाएको छ ।

हिमाली भेगमा बसोबास गर्ने मानिसहरुको आगमनबारे पनि अध्ययनले नयाँ तथ्य उजागर गरेको छ । छ्याङका नामले चिनिने घरेलु मदिरा सातौँ शताब्दीबाटै बन्ने गरेको तथ्य पनि अध्ययनले देखाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

१५ वर्षको अध्ययन

क्यालिफोर्निया विश्वविद्यालयका मानवशास्त्री एवम् पूरातत्वविद् प्रोफेसर डा. मार्क एल्डेन्डरफरले माथिल्लो मुस्ताङ क्षेत्रको मानव इतिहासबारे विगत १५ वर्षदेखि अध्ययन गरिरहेको बताएका छन् ।

अध्ययनका क्रममा कसरी र कहाँबाट होचोस्थानमा बस्ने मानिस उच्च हिमाली क्षेत्रमा पुगे, कहिलेदेखि स्थायीरुपमा बस्न थाले र त्यहाँ उत्पन्न हुने शारिरीक समस्यासँग जुध्न कस्तो अनुकूलता विकास भयो भन्नेबारे विभिन्न तथ्य फेला पारेको बताए ।

खोजका लागि मनाङ र मुस्ताङका सात ठाउँबाट पूरातात्विक मानव तथा भेडा–बाख्राको कंकाल, भाँडाकुँडा, गौतम वुद्धको मूर्ती, सुनको मास्कलगायत अवशेषको अध्ययन गरिएको थियो ।  नेपाल बाहिर लगेर खासगरी जर्मनीको ल्याबमा ती भग्नावशेषमाथि अध्ययन गरिएको खोजकर्ताहरूले बताएका छन् ।

प्रो. डा. एल्डेन्डरफरले यो अध्ययन केवल नेपालका लागि गरिएको बताए ।  करिब ३५०० वर्षअघि (१४०० बीसीई)देखि नै त्यस क्षेत्रमा मानिसको बसोबास रहेको तथ्य अध्ययनका क्रममा फेला परेको उनले बताए ।

उनले पूरातत्व विभागसँग समन्वय गरी सन् १९८० र ९० को दशकको सुरुदेखि नै अध्ययन सुरु भएको बताए ।  सन् २०१० देखि सन् २०२३ सम्म हाइ हिमालयन आर्कियोलोजिकल प्रोजेक्ट (एचएचएआरपी) अन्तर्गत खोज तथा अध्ययन गरिएको प्रो.डा. एल्डेन्डरफरले बताए ।

कसरी पत्ता लाग्यो इतिहास ?

अमेरिकाको हार्वर्ड विश्वविद्यालय र म्याक्स प्लाङ्क इन्स्टिच्युट अफ इभोलुसनरी एन्थ्रोपोलोजीकी प्रो. डा. क्रिस्टिना वारिनरले डीएनएनको विश्लेषणबाट विभिन्न तथ्यहरु फेला परेको बताएकी छन् ।

मानव कंकालको दाँत र अन्य अवशेषमा फेला परेका डीएनएको विश्लेषणबाट मुस्ताङमा मानव इतिहासबारे विभिन्न तथ्य पत्ता लागेको उनले बताइन् । दातमा जमेर रहने माइक्रोबायोम (ब्याक्टेरिया लगायत)को अन्वेषण गर्न सकिने नयाँ प्रविधिको विकासले यो खोजमा ठूलो मद्दत गरेको उनले बताइन् ।

कहाँबाट आइपुगे मुस्ताङमा मान्छे ?

हिमाली क्षेत्रका नेपाली, तिब्बती र तिब्बती–बर्मेली भाषी जनसंख्याबारे नयाँ तथ्य फेला परेको सियोल नेसनल युनिभर्सिटीकी डा. जु ह्योन लीले बताइन् । यसका लागि मनाङ र मुस्ताङका सात ठाउँबाट २६०० देखि ३५०० वर्षअघिका ३३ मानव अवशेषको अध्ययन गरिएको उनले बताइन् ।

यसअघि तिब्बती पठार र हिमाली क्षेत्रका मानिस १६०० बीसीईमा चीनको येलो नदी (येलो रिभर) क्षेत्रका जौ किसानबाट फैलिएको तथ्य थियो ।  तर त्यो आनुवंशिकी पुस्ता १४०० बीसीईमा नै नेपालमा रहेको पाइएको उनले बताइन् ।

२०० वर्षको अवधिमा पूरै पठारमा उक्त जनसंख्या फैलिन सक्ने सम्भावना नभएको उनको भनाइ छ । त्यसैले हिमाली भेगका मान्छेको सम्बन्ध येलो रिभर सभ्यताका मानिससँग पहिले सोचिए भन्दा पूरानो भएको अध्ययनको निष्कर्ष छ । 

मलेरियाको ३ हजार वर्ष पूरानो इतिहास

म्याक्स प्लाङ्क इन्स्टिच्युट अफ इभोलुसनरी एन्थ्रोपोलोजीकी मेगन मिशेलले माथिल्लो मुस्ताङको चोखोपानीमा मलेरियाको हालसम्मकै पूरानो केस पत्ता लागेको बताइन् । प्लाज्मोडियम फाल्सीपेरम परजीवीका कारण मानिसमा मलेरिया हुन्छ । लामखुट्टेको टोकाइबाट यो रोग सर्छ । 

तर २० डिग्री सेल्सियस भन्दा कम तापक्रममा यो परजिवीले आफ्नो जिवनचक्र पूरा गर्न सक्दैन । चिसो ठाउँमा र खासगरी चोखोपानी आसपासमा मलेरिया रोगको घटना छैन ।

त्यसैले तीन हजार वर्षअघि माथिल्लो मुस्ताङ दक्षिण एसियाको होचो स्थान र तिब्बती पठारबीच व्यापारीक केन्द्र हुनसक्ने देखिएको उनले बताइन् । दक्षिण एसियाका होचो स्थानमा अहिले पनि मलेरियाको प्रकोप छ । 

त्यतिबेला ती व्यक्ति व्यापारिक उद्देश्यले नै होचो स्थानमा झरेको र मलेरिया लागेर मुस्ताङ फर्किएको हुनसक्ने अध्ययनको निष्कर्ष छ । ती व्यक्तिको दाँतमै प्लाज्मोडियम फाल्सीपेरमको डीएनए फेला परेको थियो । त्यसैको विश्लेषणबाट अध्ययन गरिएको उनले बताइन् ।

सातौं शताब्दीदेखि मुस्ताङमा छ्याङ 

माथिल्लो मुस्ताङमा सातौं शताब्दीदेखि नै घरेलु मदिरा (छ्याङ) बन्ने गरेको प्रमाण भेटिएको म्याक्स प्लाङ्क इन्स्टिच्युट अफ इभोलुसनरी एन्थ्रोपोलोजीकै डा. म्याक्सिम बोरीले बताए । पुरातत्वविद्ले करिब १३०० वर्ष पूरानो (४५० देखि ६५० बीसीई)को घरेलु मदिरा बनाउँन प्रयोग हुने भाँडाको अवशेष त्यसक्षेत्रमा सन् २००८ मा फेला पारेका थिए ।

ती भाँडोभित्र छ्याङ बनाउन प्रयोग हुने जैविक सामग्री पनि फेला परेको उनले बताए ।  मदिरा (अल्कोहल) बनाउन जौ तथा गहुँको फर्मिन्टेसनमा प्रयोग हुने माइक्रोबको डीएनए उक्त भाँडो र त्यसभित्रका जैविक पदार्थमा भेटिएको डा. म्याक्सिम बोरीले बताए ।

त्यसैकारण उक्त भाँडो छ्याङ बनाउन प्रयोग भएको र सातौं शताब्दीदेखि नै मुस्ताङमा बन्ने गरेको उक्त अध्ययनको निष्कर्ष छ । त्रिभूवन विश्वविद्यालयले सोमबार आयोजना गरेको ‘मुस्ताङ एन्सेन्ट डीएनए सिम्पोजियम’मा अनुसन्धानकर्ताहरुले खोजपत्र प्रस्तुत गरेका थिए ।

अमृत क्याम्पस, इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी र काठमाडौं सेन्टर फर रिसर्च एन्ड एजुकेशनको पनि कार्यक्रममा समन्वय थियो ।

सिम्पोजियममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रो.डा.नन्दबहादुर सिंहले नेपाली आदिवासी जनजातीको एथनो–रेसिस्टेन्ट जीनबारे आफ्नो खोजपत्र प्रस्तुत गरेका थिए ।  त्रिभूवन विश्वविद्यालयको केन्द्रीय माइक्रोबायोलोजी डिपार्टमेन्टका एसोसियट प्रोफेसर डा. देवराज जोशीले ‘वातावरणीय एन्टिबायोटीक प्रतिरोधक’माथिको खोजपत्र प्रस्तुत गरेका थिए ।

वातावरणीय एन्टिबायोटीक प्रतिरोधकहरु सार्वजनिक स्वास्थ्यका लागि चुनौतीपूर्ण बन्दै गएको उनको अध्ययनको निष्कर्ष छ । यस्तै त्रिभूवन विश्वविद्यालय अन्तर्गत अमृत क्याम्पसका माइक्रोबायोलोजी डिपार्टमेन्ट प्रमुख सुचित्रा थापाले पनि आफ्नो खोजपत्र प्रस्तुत गरेकी थिइन् । 

उनले नेपालमा औषधि प्रतिरोधक इन्टिग्रोन्सको स्थितीबारे अध्ययन प्रस्तुत गरिन् ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १६:५८
प्रतिक्रिया दिनुहोस्