site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दाइजो मागेर विवाह भाँड्नेलाई कानुनी कारबाही गर्न माग 
फाइल तस्बिर ।

काठमाडौं । सांसद शान्ति चौधरीले दाइजो मागेर विवाह भाँड्नेलाई सार्वजनिक अपराधीको संज्ञा दिँदै कानुनी कारबाही गर्न माग गरेकी छन् । 

नेकपा (एमाले)बाट प्रतिधित्व गर्ने सांसद चौधरीले यस्ता घटनासागै दाइजो नियन्त्रणमा पनि विशेष काम गर्नुपर्ने बताइन् । व्यवस्था फेरिए पनि अवस्था नफेरिएको भन्दै उनले अवस्था परिवर्तनमा काम गर्नुपर्ने बताइन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“हामीले व्यवस्था परिवर्तन त गर्यौ तर, अवस्था परिवर्तन हुन सकेन । हामीलाई थाहा छ विवाह एउटा पवित्र बन्धन हो । तर, दाइजोका कारण छोरी चेलीहरू बस्तु सरह खरिद–बिक्री हुन बाध्य छन्,” चौधरीले भनिन्, “घटना ताजै छ बारामा सुनको सिक्री नदिएको भन्दै विवाह मण्डपबाट विवाह रद्द गरी भागेको घटनाले सिंगो नेपाली समाज स्तब्ध भएको छ । यस्तो व्यक्तिलाई सार्वजनिक अपराधीको संज्ञा दिँदै कानुनी बमोजिम सजाय दिन अनुरोध गर्दछु ।” 

उनले मधेस प्रदेशमा दाइजो प्रथाका कारण महिलाहरू पीडित बनिरहेको भन्दै आत्महत्या गर्ने अवस्था आउन नदिन सरकारले विशेष अभियान चलाउनुपर्ने बताइन् । “दाइजोका कारण मधेस प्रदेशमा महिलाहरू पीडित छन् । आत्महत्या गर्न समेत बाध्य छन्,” चौधरीले भनिन्, “यस्ता सार्वजनिक अपराध नियन्त्रण गरी समतामूलक समाज निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउँछु ।”

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १२:१०
प्रतिक्रिया दिनुहोस्