site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
जलविद्युत र मल कारखानामा लगानी गर्न रूसलाई आग्रह

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले ठूला जलविद्युत आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रूसलाई आग्रह गरेका छन् । बुधबार सिंहदरबारस्थित मन्त्रालय पुगेका नेपालका लागि रूसी राजदूत अलेक्सेई ए.नोभिकोभलाई पुनले नेपालको जलविद्युत र मल उत्पादनमा लगानी ल्याउन आग्रह गरेका हुन् । 

“हामीले विद्युत्का लागि अन्तर्राष्ट्रिय बजारको सुनिश्चितता गरिसकेका छौँ । नेपालको जलविद्युत क्षेत्र अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि उपयुक्त क्षेत्र हो,” मन्त्री पुनले भने, “सरकारले स्वदेशमै रासायनिक मल कारखाना खोल्ने नीति लिएको छ । रूस मलको कच्चा पदार्थ उत्पादन गर्ने विश्वकै ठूलो देश हो । मल कारखाना खोल्न इच्छुक हुनुहुन्छ भने पनि वातावरण मनाउन हामी तयार छौँ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जवाफमा राजदूत नोभिकोभले मन्त्री पुनको प्रस्ताव सकारात्मक रहेको भन्दै रूसी लगानीकर्तासँग कुरा गर्ने बताए । भू–राजनीतिक कारणले पनि नेपालमा रूसी लगानीका लागि अत्यन्तै सकारात्मक वातावरण रहेको उनको भनाइ थियो । 

“हाम्रो नेपालका दुवै छिमेकी चीन र भारतसँग राम्रो सम्बन्ध छ,” उनले भने, “रूस यस्तो देश हो कि जसले नेपाल, भारत र चीन तीनवटैलाई खुसी पारेर काम गर्न सक्दैछ ।” 

यस्तै, नेपाल–भारत सीमा क्षेत्रमा दुवै मुलुकलाई लक्षित गरी मल कारखाना खोल्ने वा उत्पादित सामग्री ल्याएर बेच्न सकिने दुवै सम्भावना रहेको उनले औंल्याए ।

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १७:१६
प्रतिक्रिया दिनुहोस्