site stats
बाह्रखरी :: Baahrakhari
देश

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका ५ सय १९ जना नेता–कार्यकर्ता निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका मध्ये एकाधबाहेक सबै विप्लवकै नेता कार्यकर्ता रहेको प्रहरीले जनाएको छ । 

विभिन्न स्थानमा विष्फोटक पदार्थ राख्ने, विष्फोट गराउने तथा निर्वाचन विरोधी नाराहरु लेख्नेदेखि निर्वाचन बहिस्कार गर्न नागरिकलाई धम्की दिनेजस्ता गतिविधि गर्ने ४ सय १० जना र निर्वाचनकै अवधिमा विभिन्न हातहतियार तथा विष्फोटक पदार्थसहित १ सय ९ जना गरी ५ सय १९ जना पक्राउ परेको प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“पक्राउ परेका ५ सय १९ जनामा एकाध अन्य अपराधमा भएपनि धरै विप्लवकै नेता कार्यकर्ता हुन् । निर्वाचन विरोधी गतिविधिमा संलग्नलाई प्रहरीले पक्राउ गर्दै आएको छ, यो अभियान जारी रहने छ,” बाह्रखरीसँग कुरा गर्दै न्यौपानेले भने, “देश निर्वाचनमय भएका बेला कुनै पनि व्यक्तिले निर्वाचन विरोधी गतिविधि गरेमा बल प्रयोग गर्न प्रहरी पछि पर्नेछैन । शान्ति सुरक्षा एकदमै चुस्त छ, नागरिकले ढुक्कका साथ आफ्नो मताअधिकार प्रयोग गर्दा हुन्छ ।”

उनका अनुसार हिजो रातिदेखि नेपाल भारतका सीमा नाका पनि बन्द गरिएको छ भने देशको शान्ति सुरक्षा कडा बनाइएको छ । सबै सुरक्षा निकाय संयुक्त रुपमा परिचालन भएको उनले बताए । 

निर्वाचन सुरक्षाको अनुगमन गर्नकै लागि प्रहरी महानिरीक्षक प्रकाश अर्याल आफैं विभिन्न जिल्लामा खटिएका छन् । सुरक्षाका हिसाबले संवेदनशिल जिल्लाहरुमा गएर अर्यालले अवस्था हेरी थप सुरक्षाकर्मीको व्यवस्था गर्दै आएका छन् । 

निर्वाचन घोषणा भएयता विप्लव समूहले देशका ५० भन्दा बढी स्थानमा विष्फोटक पदार्थ विष्फोट गराएका छन् । प्रहरीका अनुसार कतिपय ठाउँमा नक्कली बम राखेर पनि त्रास फैलाइएको छ ।

नुवाकोट, रोल्पा, रुकुम, रौतहट, भोजपुर, ओखलढुंगा, संखुवासभा, धादिङलगायत जिल्लामा विप्लवका कार्यकर्ताले चुनाव प्रचारप्रसारमा निस्केका विभिन्न दलका नेता कार्यकर्ताहरुलाई लक्षित गरी बम विस्फोट गराएका छन् । 

त्यस्तै, अहिलेसम्म ३१ स्थानमा राखिएका बम तथा विष्फोटक पदार्थ सेनाले डिस्पोज गरेको नेपाली सेनाका प्रवक्ता नैनराज दाहालले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०७४  १५:०७
प्रतिक्रिया दिनुहोस्