site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘अग्र अनुहार’मा मूखरित अग्रजहरू र महासंघको उन्नयन

काठमाडौं । नेपालमा पत्रकारिताको थालनी निकै अघिदेखि भए पनि पत्रकारहरू सांगठनिक रूपमा एकै ठाउँमा उभिएको करिब सात दशक पुग्न लागेको छ । छ दशकअघि नेपाली पत्रकारहरूको अगुवाई गर्दै तिनलाई एउटा संस्थाको माध्यमबाट अगाडि बढाउने जिम्मेवारी अग्रज व्यक्तित्वहरूले सम्हाले । तिनको कुशल नेतृत्व क्षमताले आज नेपाल पत्रकार महासंघले बृहत्त स्वरूप ग्रहण गरिसकेको कसैबाट लुकेको विषय होइन । 

२०१२ सालमा पत्रकार संघको नेतृत्व लिने व्यक्तित्व कृष्णप्रसाद भट्टराई कालान्तरमा नेपालको प्रधानमन्त्रीको पद सम्हाल्दै मुलुकलाई नेतृत्व दिने तहसम्म पुगे । त्यसपछिको समयमा अन्य थुप्रै पत्रकार व्यक्तित्वहरूको काँधमा पत्रकार संघको जिम्मेवारी आयो । र, आज ६८ वर्षमा महासंघको स्वरूपकासाथ संस्था अगाडि बढिरहेको छ ।

वि.सं. २०१२ देखि २०१३ सालसम्म नेपाल पत्रकार संघको पहिलो अध्यक्षको जिम्मेवारीमा रहेका भट्टराई तत्कालीन अवस्थामा नेपाल पुकार, युगवाणी पत्रिकाको सम्पादकका रूपमा कार्यरत थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी राजनीतिज्ञ कृष्णप्रसाद भट्टराईको राजनीतिक व्यक्तित्वबाट कोही पनि अपरिचित छैनन् । नेपालको इतिहासमा दुई पटक प्रधानमन्त्रीको जिम्मेवारीमा रहिसकेका उनको नेतृत्व पत्रकारहरूको संस्थाले पनि पाउनु हरेक पत्रकारहरुका लागि गर्वको विषय हो । 

भट्टराईसँगै अन्य २२ व्यक्तित्वहरुले नेपाल पत्रकार महासंघको जिम्मा आफ्नो काँधमा बोके । ति अग्रज पत्रकारहरुका बारेमा लेखिएको पुस्तक प्रकाशनमा आएको छ ‘अग्र अनुहार : कथा अग्रजको, गाथा महासंघको’ । जसलाई बालकृष्ण अधिकारीले सम्पादन गरेका छन् ।

यस पुस्तकमा प्रा. रामकृष्ण रेग्मीले लेखेका छन् : ‘सतहमा हेर्दा यो किताब अनेक पत्रकारको व्यक्तित्व–परिचय हो, पत्रकार महासंघको एक किसिमको इतिहास हो तर सारवस्तुलाई केलाउँदा नेपालको विविध राजनीतिक कालखण्ड, सामाजिक–सांस्कृतिक परिवेशमा नेपाली पत्रकारको यात्रा कसरी अघि बढ्दै आएको रहेछ भन्ने तथ्यको जीवन्त प्रमाण हो । प्रस्तोता सबै जीवनी लेख्ने शैलीमा त्यही कुरामा केन्द्रित भएको देखिन्छ । यसैले यो पुस्तकका पाना पानामा, तथ्यांक तथ्यांकमा र सन्दर्भ सन्दर्भमा पत्रकारिता अभ्यास गर्ने, पत्रकारिता पढ्ने र आमसञ्चार माध्यम प्रयोग गर्ने सबैका लागि उपयोगी संकेत तथा सामग्री फेला पर्छन् ।’ (३)

पुस्तकका सम्पादक बालकृष्ण अधिकारी ‘६८ वर्षको यात्रा’मा लेख्छन् : ‘यसले तत्कालीन राजनीतिक, आर्थिक र सामाजिक अवस्थाका साथै पत्रकारिताको अवस्थाको चित्रण गर्नेछ । पत्रकारिता अध्ययन तथा यस क्षेत्रका प्रवेश गर्ने तयारीमा रहेका वा रुचि राख्ने जोकसैका लागि पनि न्यूनतम जानकारी प्राप्त हुनेछ । यो अन्त्य होइन, आगामी दिनमा थप अध्ययन र खोजीका लागि सुरूआत मात्र हो । आगामी दिनमा महासंघले ‘पत्रकार बैंक’ नै स्थापना गर्नुपर्छ । त्यसमा सबै पत्रकारको न्यूनतम जानकारी हुनुपर्छ । त्यो आजको लागि होइन भविष्यमा पत्रकार र पत्रकारिताको अध्ययन गर्न चाहनेका लागि महत्वपूर्ण योगदान हुनेछ ।’ (१७)

यस पुस्तकभित्र कृष्णप्रसाद भट्टराईसँगै दाताराम शर्मा, फत्तेबहादुर सिंह, पशुपतिदेव पाण्डे, मनिन्द्रराज श्रेष्ठ, गोपालदास श्रेष्ठ, गोकर्णदेव पाण्डे, इन्दुकान्त शर्मा, मञ्जुरत्न शाक्य, निर्मलकुमार अर्याल, मणिराज उपाध्याय, गोविन्द वियोगी, होमनाथ दाहाल, हरिहर विरही, किशोर नेपाल, डा. सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी, धर्मेन्द्र झा, शिव गाउँले, डा. महेन्द्र विष्ट, गोविन्द आचार्य र विपुल पोख्रेलका व्यक्तिवृत्त प्रस्तुत गरिएका छन् ।

तिनका व्यक्तिवृत्तसँग महासंघ र समग्र पत्रकारिताको उन्नयनमा तिनले पुर्याएको योगदानका बारेमा पनि उल्लेख गरिएको छ । 

प्रतिष्ठान प्रदेश समिति, नेपाल पत्रकार महासंघद्वारा प्रकाशित यस पुस्तकको मूल्य ३७५।– रुपैयाँ तोकिएको छ ।
  
 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १६:४०
प्रतिक्रिया दिनुहोस्