site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
इलाममा ‘घाँस’, ‘कुँडो’ हुनेवाला छैन : ओली

काठमाडौं । सत्तारूढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाखमा हुने उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले पनि अन्तिम समयमा आफ्नो पार्टीका उमेदवारलाई समर्थन गर्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसलाई जिताउन नमिल्ने भन्दै उनले एमाले सत्तासाझेदार रहेकाले माओवादी केन्द्रले पनि आफ्नो पार्टीका उमेदवारलाई समर्थन गर्ने बताए । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले इलाम क्षेत्र नम्बर–२ र बझाङ–१ ‘क’मा हुने उपनिर्वाचनमा एमालेको जित निश्चित रहेको जिकिर गरे । प्रतिस्पर्धा गर्न सक्ने अरू दल नभएकाले पनि एमालेले जित्ने उनको भनाइ थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अध्यक्ष ओलीले गत निर्वाचनमा माओवादी र नेकपा (एकीकृत समाजवादी)को बलमा कांग्रेसले आफ्नो पार्टीलाई इलाममा टक्कर दिए पनि अहिले त्यस्तो अवस्था नरहेको बताए ।

“इलाम क्षेत्र नम्बर–२ मा हिजो सबै मिल्दा पनि हामीले जितेका हौँ । त्यति बेला कांग्रेसका उमेदवार हामीसँग झन्डैझन्डै सिँगौरी खेल्न पुगेको थियो । माओवादीको घाँस, अर्काको घाँस, अर्काको कुँडो सबै खाएर निकै तागतिलो देखिएको थियो कांग्रेस,” उनले भने, “त्यति बेला हामीले हराइदिएका थियौँ । अहिले त्यस्तो घाँस, कुँडो कतै हुनेवाला छैन । त्यसकारण यसपल्ट इलाममा हामीसँग कोही प्रतिस्पर्धी छैन । हामी जित्छौँ ।”

उनले थपे, “बझाङ प्राविधिक हिसाबले कुनै बेला हारेका थियौँ । तर आज, त्यहाँ समाजवादी पार्टीको भोट, माओवादी पार्टीका भोटले त्यहाँ कांग्रेसले जितेको थियो । आफ्नै बलमा, आफ्नै तागतमा होइन । मलाई विश्वास छ, अन्तिममा पुग्दासम्म माओवादीले हामीलाई समर्थन गर्छ । किनभने, कांग्रेस जिताउन मिल्दैन । हामीभन्दा माओवादी पार्टी धेरै भोट लिएर त्यो पोजिसनमा हुन्थ्यो भने हामी खुला दिलले माओवादीलाई समर्थन गर्थ्यौँ ।”

अध्यक्ष ओलीले बझाङ–१ ‘क’मा पनि आफ्नो पार्टीले १६ हजारभन्दा बढी मत ल्याएर जित्ने जिकिर गरे । उनले आन्तरिक किचलो नगरी निर्वाचन प्रचारमा जुट्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन समेत दिए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १८:२०
प्रतिक्रिया दिनुहोस्