site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नागरिक उन्मुक्ति पार्टीलाई सुदूरपश्चिम सरकारको नेतृत्व !

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेशको 'नेतृत्व पाउने' भएको छ । सत्ता गठबन्धनले नाउपालाई मुख्यमन्त्रीका लागि गृहकार्य गर्न भनेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई हस्ताक्षर संकलन गरेर मुख्यमन्त्रीको उमेदवारबारे निर्णय गर्न सुझाव दिएको नाउपाका नेता राजेश अधिकारीले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका अनुसार प्रदेश प्रमुख नजिर मियाँले १० दिनको समय दिएर सरकार गठनका लागि आह्वान गरिसकेकाले केही दिनमै नाउपाले मुख्यमन्त्री बनाउने व्यक्तिका विषयमा निर्णय गर्नेछ । साथै नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)सहितले पनि प्रदेशसभा सदस्यहरूको हस्ताक्षर संकलनको काम सुरु गरिसकेका छन् । 

“हामीलाई व्यक्तिको विषयमा निर्णय गर्न र हस्ताक्षर संकलनसहितको तयारी गर्न आग्रह भइसकेको छ,” अधिकारीले बाह्रखरीसँग भने, “गठबन्धनका तर्फबाट आग्रह भएपछि हामीले केही दिनभित्रै निर्णय गरेर मुख्यमन्त्रीको प्रस्ताव गर्नेछौँ ।”

उनले सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरूलाई सोधिएको स्पष्टीकरणमा पनि केही दिनमै निर्णय गरेर मुख्यमन्त्रीको निर्णयमा पुग्ने बताए ।

नाउपाले गरेको पत्राचारका आधारमा प्रदेश सरकारमा राज्यमन्त्री बनेकी इन्दिरा गिरीको सोमबार नै पद गएको छ । त्यसबाहेकका सांसदहरूको विषयमा निर्णय गरेर पार्टीले मुख्यमन्त्रीको उमेदवार तय गर्ने अधिकारी बताउँछन् ।

 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १९:०२
प्रतिक्रिया दिनुहोस्