site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
नाट्यकृति ‘लासमाथिको मानवता’माथि अन्तरक्रिया

काठमाडौं । डा. पुरण राईद्वारा लेखिएको चार एकांकी नाटकहरूको संग्रह ‘लासमाथिको मानवता’माथि अन्तरक्रिया सम्पन्न भएको छ । बुधबार नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा रंगकर्मी केदार श्रेष्ठले साहित्यमा उपन्यासको क्रेज बढे पनि नाटक लेखनमा भने लेखकहरू आकर्षित हुन नसकेको बताए । उनले आजको समयमा नाट्यकर्म फस्टाए पनि लेखन फस्टाउन नसकेको चर्चा गरे ।

डा. राईको नाट्यकृतिमाथि चर्चा गर्दै उनले यो संग्रहका नाटकहरू मञ्चन गर्न सकिने भन्दै प्राविधिक रूपमा भने केही जटिलता रहेको उल्लेख गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अर्का रंगकर्मी तथा चलचित्र निर्देशक सुलक्षण भारतीले हरेक नाटक मञ्चन गर्न सकिने बताउँदै डा. राईका यी नाटकहरूमाथि राम्रो चलचित्र बन्न सक्ने उल्लेख गरे ।

नाट्य विधाकी समालोचक डा. कान्छी महर्जनले कृतिमाथि समालोचकीय टिप्पणी गर्दै यस संग्रहभित्र सामाजिक यथार्थवादी नाटकहरू रहेको चर्चा गरिन् । उनले नाट्यकृतिको साहित्यिक र रंगमञ्चीय दृष्टिकोणबाट विश्लेषण गरिन् ।

कार्यक्रममा अग्रज नाट्यकर्मी तथा साहित्यकार अशेष मल्लले नाटककार जन्मिन समय लाग्ने बताउँदै पछिल्लो समय दक्षिण एसियामै नेपालको नाट्यकर्मले विशेष महत्व राख्दै आएको उल्लेख गरे ।

नाट्यकर्मी मल्लले नाटकमा केही काम हुँदाहुँदै पनि राज्यको ध्यान यो क्षेत्रमा नगएकोमा दुःख व्यक्त गरे । उनले संगीत नाट्य एकेडेमीले पनि यतातिर केही गर्न नसकेको टिप्पणी गरे । 

अर्का रंगकर्मी तथा साहित्यकार श्रीओम रोदनले डा. राईले रंगकर्मीहरूका लागि कृतिमार्फत् नाट्य सौगात पस्केको उल्लेख गरे । 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १३:३४
प्रतिक्रिया दिनुहोस्