site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रविलाई केन्द्रमा राखेर समितिको माग राजनीतिक पूर्वाग्रह : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा देखिएको गतिरोध अन्त्यका निम्ति राजनीतिक तहमा संवाद सुरु भएको र समस्या चाँडै समाधान हुने बताएका छन् । बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले पछिल्लो गतिरोधको समाधान राजनीतिक संवादबाटै हुने उल्लेख गरे ।

उनले सहकारीसँग सम्बन्धित समग्र विषयको अलग्गै अध्ययन गरेर समस्याको समाधान गर्न सकिने विश्वास व्यक्त गरे । “अहिले रवि लामिछानेलाई नै केन्द्रमा राखेर समितिको माग गरिएको छ, त्यो मिल्ने कुरो छैन,” प्रधानमन्त्री प्रचण्डले भने, “मैले सदनमा जवाफ दिँदा अनुसन्धानकर्तादेखि सम्बन्धित निकायका प्रमुख र सम्बन्धित जिल्लाका अधिकारीसँग के हो यो केस भनेर सोधेको थिएँ । उहाँहरूले यस केसमा रविजीलाई अनुसन्धान गर्ने ठाउँ छैन भन्नुभयो, सोही आधारमा मैले बोलेको हुँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रतिपक्ष दलले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्नेभन्दा पनि गठबन्धन फेरिएपछि यसलाई राजनीतिक मुद्दा बनाइएको उनको भनाइ छ । “पहिले हामीसँगै कांग्रेस सरकारमा थियो, त्यतिखेर यो मुद्दा सामान्य थियो । सरकारबाट निस्केपछि रविजीलाई केन्द्रमा राखेर समितिको माग गरिएको छ, यो राजनीतिक पूर्वाग्रहमा आधारित छ,” उनले भने ।

पछिल्लो राजनीतिक समीकरण भत्काउन गरिएको प्रयास सफल नहुने उनले बताए ।
 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १०:४२
प्रतिक्रिया दिनुहोस्