site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
रासायनिक मल खरिदका लागि १५ अर्बको स्रोत सुनिश्चित, मल 'अभाव नहुने'
फाइल तस्बिर ।

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १५ अर्बको स्रोत सुनिश्चित गरी रासायनिक मल खरिदका लागि टेन्डर प्रक्रिया सुरु गरेको छ । आइतबार सिंहदरबारमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी सिजनका लागि रासायनिक मलको विषयमा गरेको छलफलमा यसबारेमा जानकारी गराइएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानहरूलाई रासायनिक मलको अभाव हुन नदिन आगामी वर्षको बजेटमा १५ अर्बको स्रोत सुनिश्चित गरी मल खरिदको लागि टेन्डर प्रक्रियामा गएको बताएको छ ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले १५ अर्ब रकम स्रोत सुनिश्चित गरेर दुई लाख ६० हजार मेट्रिक टन मल खरिद प्रक्रिया अघि बढेको जानकारी दिए । उनले गहुँका लागि आवश्यक मल खरिद बजेट कुर्दा प्रक्रिया ढिला हुने भएकाले बजेट अगावै स्रोत सुनिश्चि गरेर टेन्डर गरिएको बताए । समयमा नै मल आवश्यक भएकाले अर्थ मन्त्रालयको स्वीकृतपछि टेन्डर गरिएको उनको भनाइ छ ।

उनले यस वर्ष पनि रासायनिक मलको अभाव नहुने दाबी गरे । उनले सरकारसँग युरिया मल पर्याप्त मात्रामा मौज्दात रहेको पनि जानकारी दिए । शर्माका अनुसार सरकारसँग युरिया ७५ हजार ९६६, डीएपी १६ हजार ८३५ र पोटास ६ हजार २३४ मेट्रिक टन मौज्दात छ ।

उनले दुई लाख १० हजार मेट्रिक टन युरिया, ९७ हजार ८६५ डीएपी र १३ हजार ९५१ पोटास गरी ३ लाख २२ हजार ३६९ मेट्रिक टन मल आयात भइरहेको बताए ।

उनले चालु आर्थिक वर्षमा युरिया एक लाख ७६ हजार, डीएपी एक लाख आठ हजार ७९७ र पोटास ९ हजार मेट्रिक टन मल वितरण गरिएको बताए ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १६:५३
प्रतिक्रिया दिनुहोस्