site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वाम किल्ला इलाममा रुख रोप्ने अभियानमा कांग्रेस नेताहरू

इलाम । उपनिर्वाचनले नेपाली कांग्रेसलाई दिने सन्देश के हुन्छ ? इलाम–२ मा हुने उपनिर्वाचनको प्रचारप्रसार र आमसभा कार्यक्रममा शनिबार पुगेका एक केन्द्रीय सदस्यलाई बाह्रखरीले प्रश्न गर्‍यो । उनले प्रतिप्रश्न गर्दै भने, “कस्तो सन्देशको कुरा गर्नुभएको हो ?”

कांग्रेसले चुनाव जित्दा र हार्दा कस्तो सन्देश जाने हो ?

उनले जवाफ दिए, “कांग्रेसमाथि जति प्रश्न उठ्यो, उठेका छन् र उठ्छन्, ती सबै प्रश्नको जवाफ हुनेछ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संविधानसभा अध्यक्ष समेत रहेका तत्कालीन सांसद सुवासचन्द्र नेम्वाङको ०७९ भदौ २६ गते निधन भएपश्चात् इलाम–२ मा उपनिर्वाचन हुन लागेको हो । यही वैशाख १५ गते यहाँ उपनिर्वाचन हुँदै छ । चुनावी मैदानमा २० जनाले प्रतिस्पर्धा गर्दै छन् ।

मुख्य दलसहित पहिचानको मुद्दा उठाएर स्वतन्त्र उमेदवार पनि निर्वाचन मैदानमा छन् । “जसले निर्वाचन जित्छ, उसलाई जनताले रुचाएका मानिनेछ । नयाँ दलको फुर्ती, पहिचानका मुद्दा, पुराना दललाई लाग्ने आरोपलगायत विषयमा एकमुस्ट जवाफ यो निर्वाचनले दिनेछ,” ती केन्द्रीय सदस्यले भने ।

यो उपनिर्वाचनको अर्थ सत्ताभन्दा पनि संसदीय राजनीतिमा बढी देखिन्छ । नयाँ र पुराना दल दुवैलाई मतदाताले कुन रूपमा लिन्छन् भन्ने एकप्रकारको संकेत दिनेछ । ‘मिसन–८४’ मा लागेका दलहरूलाई पनि कुन रूपमा अघि बढ्ने, मतदातालाई कसरी आफ्नो प्रभावमा राख्ने भन्ने संकेत मिल्न सक्छ ।

वाम किल्लामा रुख रोप्ने अभियानमा यति बेला कांग्रेस नेताहरू इलाममा छन् ।

महामन्त्री विश्वप्रकाश शर्मा उपनिर्वाचनको कमान्ड सम्हाल्दै छन् । पार्टी नेता शेखर कोइरालाले पनि गुटका कारण चुनावी नतिजा प्रभावित नहोस् भनेर कदम चालेको उनीनिकट नेताहरू बताउँछन् । आउँदो मंगलबार अर्को चुनावी आमसभा चुलाचुलीमा राखिएको छ । त्यहाँ कोइरालासहितका नेताले सम्बोधन गर्नेछन् ।

कांग्रेसलाई जिताउन भन्दै महामन्त्री गगनकुमार थापा पनि पटक–पटक इलाम आएका छन् । उनले मतदातासँग संवाद मात्र गरेका छैनन्, घरदैलो कार्यक्रम गरिसकेका छन् । इलाम बजारमा शनिबार आयोजित आमसभामा प्रमुख अतिथि बनेर उनले सम्बोधन गरे ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले इलामको उपनिर्वाचनमा संयोजनको भूमिका खेलिरहेका छन् । सहमहामन्त्री भीष्मराज आङ्देम्बे पनि यस क्षेत्रमा सक्रिय भूमिकासहित आफूलाई चुनावी सभामा व्यस्त बनाइरहेका छन् ।

यसबाहेक शनिबार इलाम बजारमा आयोजित सभामा दर्जन बढी केन्द्रीय सदस्य, कोसी प्रदेशका पार्टी सभापतिसहित प्रभावशाली नेताहरू सहभागी भए । कार्यक्रममा इलामबाट मात्र नभई छिमेकी जिल्ला झापा, मोरङ र पाँचथरबाट नेता–कार्यकताको सहभागिता थियो ।

qwifmdg-1713672590.jpg
सन्देशमा नेताहरूको जोड
केन्द्रीय नेताहरूको दृष्टिकोणमा यो निर्वाचनले एकसाथ धेरै विषयमा जवाफ दिनेछ । सरकारको जोडघटाउभन्दा पनि सिंगो राजनीतिक सन्देश इलाम–२ सँग भएको बुझाइमा कांग्रेस छ ।

विशेष गरेर सुशासनको वकालत गर्ने नयाँ दल र कोसी प्रदेशमा पहिचान मुद्दाले कुन रूप लिन्छ भन्ने चिन्ता कांग्रेस नेतृत्वमा देखिन्छ ।

आमसभामा महामन्त्री थापाले उत्तेजनाको राजनीति स्वीकार गर्ने कि चेतनाको राजनीति गर्ने भनेर फैसला गर्ने जिम्मा इलामका जनताको हातमा रहेको बताए ।

अर्का महामन्त्री शर्माले भएन र भत्कियो या सकियो भनी निराशा मात्र बेच्ने ठूलो पंक्तिलाई कांग्रेस र इलाम–२ ले उपनिर्वाचनका माध्यमबाट जवाफ दिनुपर्ने बताए । उनले भने, ‘‘निराशा मात्र बेच्नुभन्दा तथ्यमा उभिएर मत माग्न अन्य दलका नेताहरूलाई पनि आग्रह गर्छु ।’’

पहिचानको मुद्दामा स्वर 
कोसी प्रदेश नामकरण र त्यसपछि देखिएको पहिचानको मुद्दा इलाम उपनिर्वाचनमा प्रखर रूपले उठाइएको विषय हो । पहिचानकै निम्ति कोसी नामकरणपश्चात् निरन्तर आन्दोलन गरिएको छ ।

यो उपनिर्वाचनमा यी विषयमा हिसाब हुने शनिबार इलामको चोकबजारमा भेटिएका केही मानिससितको अनौपचारिक संवादमा स्पष्ट झल्कन्थ्यो । आमसभामा आएका मानिसले यसमा मिश्रित धारणा राखे । कोही उपनिर्वाचनमा कांग्रेसलाई फाइदा हुने त कसैले नोक्सान हुने अड्कलबाजी गर्दै थिए ।

महामन्त्री थापाले पनि पहिचानका विषयमा आफ्नो धारणा राखे । उनले यो विषयमा विवादभन्दा पनि शान्तिपूर्ण हल आवश्यक भएको बताए ।

यो विषय उचाल्ने र उल्झनमा मात्र पार्ने उमेदवार इलाममा चाहिएको हो कि पहिचानको नारा शान्तिपूर्ण रूपमा सम्बोधन गर्ने मान्छे चाहेको भनी उनले प्रश्न गरे । “तपाईंलाई सम्हाल्ने, मिलाउने शक्ति चाहिएको छ कि पहिचानको नारा सम्बोधन गर्ने योग्य मान्छे चाहिएको ?,” उनले प्रश्न गरे ।

सहमहामन्त्री आङ्देम्बेले पनि पहिचानको मुद्दा सम्बोधन गर्ने दल कांग्रेस भएको जिकिर गरे । उनले प्रदेशलाई शान्ति क्षेत्रमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए । “राजनीति कुनै पनि धर्म र जातिको नाममा कुनै दिन विस्फोट हुनसक्छ । शान्ति क्षेत्रमा रूपान्तरण गरौँ, यसको नेतृत्व कांग्रेसले गर्छ नै,” उनले भने ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ०९:५५
प्रतिक्रिया दिनुहोस्