site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो जसपा, कृषिमन्त्रीद्वारा राजीनामा

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । सरकारमा रहेका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । जसपाले सरकारबाट फिर्ता हुन निर्देशन दिएपछि उनले राजीनामा दिएका हुन् ।  

मन्त्री अहिरले शनिबार नै राजीनामा बुझाए पनि आज मात्र सार्वजनिक भएको हो । मुख्यमन्त्री जोखबहादुर महराले गत चैत २२ गते आफ्नो पार्टीसँग गरेको लिखित सम्झौता कार्यान्वयन नगरेको भन्दै नेपालको संविधानको धारा १६९ को उपधारा (२) बमोजिम राजीनामा दिएको उल्लेख गरेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता महरा नेतृत्वको सरकारले गत चैत २५ गते चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा जसपाबाट अहिर बिनाविभागीय मन्त्री नियुक्त भएका थिए । वैशाख ६ गते उनले कृषि तथा भूमि व्यवस्थामन्त्रीको जिम्मेवारी पाएका थिए । 

सरकार गठनका क्रममा समर्थन गरेका दलबीच भएको सम्झौताअनुसार जसपालाई सहरी विकास तथा पर्यटन र कृषि तथा भूमि व्यवस्था मन्त्रालय दिने लिखित सम्झौता भएको थियो । 

प्रदेशसभामा तीनजना सदस्य भएको जसपाले सरकारलाई दिएको समर्थन भने कायमै राखेको जनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १३:५२
प्रतिक्रिया दिनुहोस्