site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सहकारी ठगीको छानबिन गर्न समिति नबनेसम्म सदन चल्दैन : शेखर कोइराला
फाइल तस्बिर ।

इलाम । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नसक्ने बताएका छन् । उनले सुशासन सिकाउने पार्टी र त्यही पार्टीका सभापति सहकारी ठगीमा मुछिएकाले संसदीय छानबिन समिति बनाउन डराउन नहुने पनि बताए ।

मंगलबार चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूलाई सुशासनको पक्षधर बताउने पार्टीका सभापति नै सहकारी ठगीमा मुछिएकाले ती पार्टीले कांग्रेसलाई सुशासन सिकाउन नमिल्ने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले इलामबाट कांग्रेसका उमेदवारलाई जिताउन पनि आग्रह गरे । "रुख चिह्नमा मत हालेर डम्बर खड्कालाई यहाँबाट जिताएर पठाउनुहोस्, इलाम–२ को विकासको जिम्मा म लिन्छु," उनले भने ।

नेता कोइरालाले नेपाली कांग्रेस नै पहिचानको मुद्दा सबैभन्दा पहिले उठाउने पार्टी भएको बताए । कांग्रेस सधैँ पहिचान, पहुँच र प्रतिनिधित्वको पक्षमा रहेको बताउँदै उनले कांग्रेसबाहेक कसैले पनि पहिचानको मुद्दालाई सम्बोधन गर्छ भन्ने भ्रममा नपर्न आग्रह गरे । उनले पहिचान चाहनहरूले कांग्रेसका उमेदवार खड्कालाई मत दिनुपर्ने उल्लेख गरे ।

"गत माघ ७ गते पहिचानवादी अग्रज नेताहरू विराटनगर जानुभएको थियो, मैले उहाँहरूलाई पहिचानको मुद्दामा म संवेदनशील रहेको र कांग्रेसले पहिचानको मुद्दालाई सम्बोधन गर्ने कुरामा आश्वस्त बनाएर पठाएको थिएँ," उनले भने, "अर्को कुरा प्रदेश सरकारले पहिचानको मुद्दालाई सम्बोधन गर्न कांग्रेस नेतृत्वको प्रदेश सरकारले समिति नै बनाएर काम गरिरहेको कुरा तपाईं सबैलाई थाहा नै छ ।"

सम्बोधनको क्रममा उनले अन्य दलहरू आफ्नो दल र तिनका नेताभन्दा माथि उठ्न नसकेका र कांग्रेस भने आफू र आफ्नो पार्टीलाई भन्दा माथि राष्ट्र र जनता छन् भन्ने कुरा लिएर हिँडेका उल्लेख गरे ।

नेता कोइरालाले चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गर्ने, चिया बगानमा काम गर्ने श्रमिकहरूका लागि समान ज्याला र उनीहरूको हकहितका पक्षमा काम गर्ने प्रतिबद्धता पनि जनाए ।

उनले चुलाचुलीमा कांग्रेसकै पहलमा छिट्टै मालपोत कार्यालय र नापी कार्यलय आउने पनि आश्वासन दिए । उनले चुलाचुली वार्ड नम्बर ६ को साक्फारा सडक निर्माण कार्य कांग्रेसकै पहलमा निर्वाचनलगत्तै सुरु गर्ने बताए ।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १७:२७
प्रतिक्रिया दिनुहोस्