site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बजेट रणनीतिक योजनालाई केन्द्रमा राखेर आउनुपर्छ : पूर्वअर्थमन्त्री पाण्डे
फाइल तस्बिर ।

धादिङ । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट छरेर दिँदा उपलब्ध नहुने भएकाले रणनीतिक योजनाहरूमा लगानी गर्नुपर्ने बताएका छन् ।

प्रेस चौतारी धादिङले शुक्रबार धादिङबेसीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पाण्डेले विकासको मोडेल फरक कोणबाट अघि बढाउनुपर्ने बताउँदै सबै काम एकैपटक गर्न खोज्दा अनुत्पादक लगानी बढेको लामो समयसम्म प्रतिफल लिन नसक्ने अवस्थामा पुगेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

योजनाको प्राथमिकीकरण गर्दै साना र बजेट छर्ने योजना लगानी गरे पनि ७० प्रतिशत लगानी रणनीतिक योजनाहरूमा लगानी गर्नुपर्ने पूर्वअर्थमन्त्री पाण्डेको भनाइ छ ।

"अहिले देशको अर्थतन्त्रको स्वास्थ्य राम्रो छैन । विदेशी मुद्राको सञ्चिति बढे पनि यो देशको अर्थतन्त्रको पूर्ण सञ्चिति नभएकाले अर्थतन्त्र चलायमान बनाउन योजनाहरू ल्याउनुपर्छ," उनले भने ।

नयाँ लगानी आउन नसकेको र विदेशबाट आयात कटौती गरिएको अवस्थामा निर्माण व्यवसाय, सेयर बजार, घरजग्गा कारोबारलगायतका स्थानमा आर्थिक कारोबार घट्दा अर्थतन्त्र संकुचित भएको उनको बुझाइ छ । उनले धेरैलाई रोजगारी दिन सक्ने, विकासको मोडेललाई उत्पादनसँग जोड्ने खालको योजना ल्याउन अर्थमन्त्रीलाई आग्रह गरे ।

आन्तरिक ऋण, वैदेशिक ऋण, नेपाली र वैदेशिक लगानी ल्याएर अर्थतन्त्रमा लगानी गर्न सकेमात्र हाल मन्द भएको अर्थतन्त्रले गति लिने उनको भनाइ छ ।

सञ्चारकर्मीको जिज्ञासामा पाण्डेले सबैले कानुन पालाना गर्नुपर्ने बताउँदै पदको आडमा कारबाहीमुक्त हुन नसक्ने स्पष्ट पारे ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  २१:१५
प्रतिक्रिया दिनुहोस्