site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गिरीबन्धु प्रकरण : सर्वोच्च अदालतको फैसलामा ओलीको गम्भीर प्रश्न 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु प्रकरणमा सर्वोच्च अदालतको फैसलामा गम्भीर प्रश्न उठाएका छन् । सर्वोच्च अदालतले ओली सरकारको ०७८ जेठ ३ को मन्त्रिपरिषद्को निर्णयबाट घर जग्गा व्यवसायलाई हदबन्दी छुट दिने आदेशसहितका मन्त्रिपरिषद्का निर्णयलाई अपरिपक्व र उधारो सर्तमा आधारित भनेर फैसला गरेको छ । तर, ओलीले त्यसलाई ऐन बनाएको विषयसँग जोडेर अदालतमाथि नै प्रश्न उठाएका हुन् । 

“अदालतले पनि फैसला गर्दा हदबन्दीभन्दा बढीको त्यो जग्गा दिन पाइँदैन भन्नुपर्‍यो नि ! दिन चाहिँ मिल्छ, तर, यसको चाहिँ अपरिपक्वता देखियो,” ओलीले फैसलामा प्रश्न उठाए ।  

गिरीबन्धु टी–इस्टेटको फैसलाको पूर्णपाठ लेख्ने पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडाप्रति आक्रमक देखिएका ओलीले बालुवाटार छावा र गिरीबन्धु हात्ती भन्दै गरेको टिप्पणीप्रति पनि आपत्ति जनाए । उनले न्यायाधीश खतिवडाको अन्तर्वार्तातर्फ इंगित गर्दै  न्यायमूर्तिको कुर्सीमा बस्दा होस् वा रिटाएर भएपछि पनि जिम्मेवार बन्नुपर्ने बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“बालुवाटार त छावा हो, हात्ती त त्यहाँ छ भनेर, त्यो हात्तीकोे दुईवटा छावा बेच्दा श्रीमान कहाँ हुनुहुन्थ्यो ? न्याय क्षेत्रमा हुनुहुन्थ्यो कि हुनुहुन्नथ्यो ? हुनुहुन्नथ्यो भने त्यसभन्दा पछि त आउनुभयो होला नि,” फैसलाप्रति असन्तुष्टि पोख्दै ओलीले भने, “केही थिएन भने अस्ति फैसला गर्दा गिरीबन्धु टी–इस्टेटको कुरा उठिसकेपछि यससम्बन्धमा भए गरेका सम्पूर्ण कागजात लेऊ, हिजो के भएको छ, अस्ति के भएको छ भनेर खोज्नुपर्दैन ?”   

उनले खतिवडाले दिएको अन्तर्वार्ताको ‘कन्टेन’मा समेत प्रवेश गरेर प्रश्न उठाए । “अन्तर्वार्तामा भन्नुहुन्छ, त्यो त पहिले भइसकेका फैसला, त्यसमा त केही बोल्न मिलेन ? अच्छा पहिले भइसकेका फैसलामा बोल्न मिलेन, अनि तपाईंले लेखेको पूर्णपाठ, तपाईंले लेखेको फैसलामा चाहिँ गलत व्याख्या गर्न मिल्यो ?,” ओलीले चेतावनी दिँदै भने, “यस्तो अन्यायपूर्ण ढंगले नजानका लागि श्रीमान्‌लाई म आग्रह गर्न चाहन्छु ।” 

ओलीले आफूले अदालतका अन्यायपूर्ण फैसला पनि मानेको भन्दै गिरीबन्धुको फैसलामा प्रश्न उठाए । आफू अदालतको सम्मान  गरेर नै अन्यायपूर्ण फैसला मानेर जेलजीवन बिताएको, झुटा मुद्दा भोगेको तथा अदालतकै फैसलाबाट सरकारबाट समेत हटेको बताए । त्यसो भन्दै उनले अहिलेको फैसलामा थप प्रश्न उठाएका थिए ।  

“कानुन बनाउनु भन्ने कानुन बनाएपछि अपरिपक्व ! संसद्मा ल्याउने हो, संसद्ले पास गर्ने हो । कानुन बनाउने त्योभन्दा परिपक्व तरिका के हुन्छ ? अरु निर्णयका हकमा, कुन निर्णयलाई परिपक्व भन्ने, कुन निर्णयलाई अपरिपक्व भन्ने ? कुनै समयमा अदालतले गरेकै निर्णयलाई अर्को अदालतले उल्टाउँछ,” प्रश्न गर्दै ओलीले भने, “उल्टिन्छन् कहिले कहिले निर्णय, अदालतलाई ठिक लागेन उल्टायो, यसमा अरु प्रकारका कुराहरू कतै सम्बन्धित् छैनन् ।” न्यायालयलाई यति भनिसकेपछि अ‍ोलीले कांग्रेसलाई गिरीबन्धुको फैसला नउठाउने चेतावनी दिए । उनले संसद्‌मा उठिरहेको विषयमा केन्द्रित् हुन सुझाव दिँदै त्यसो नगरे कंग्रेसविरुद्ध एमाले आक्रमक बन्ने चेतावनी दिए । 

“नेपाली कांग्रेसले जसरी घरी–घरी उठाउने गरेको छ, म भन्न चाहन्छु, ५१ बिघा र १९ बिघा गरेर ७० बिघा जमिन, त्यही गिरीबन्धु टी–इस्टेटको कमिसन खाएर बेच्न दिएको कुरा यसमा छानबिन हुनुपर्छ,” ओलीले भने, “अब हामी नेपाली कांग्रेसले बकवास बोलिरहने, हामी चुप लागेर सुनिरहने होइन । नेपाली कांग्रेसका बदमासीहरूका सन्दर्भमा हामी कुरा उठाउँछौँ ।”

उनले कांग्रेसले मात्र संसद्मा बोल्ने नभएको भन्दै अब एमालेले कांग्रेसका विषयमा प्रश्न उठाउने बताए । “हामीले सुनिरहनुपर्ने, कांग्रेस कराइरहनुपर्ने, यो हुन्छ ? पार्लियामेन्ट भनेको त्यही हो ? यो चल्दैन,” ओलीले भने, “अब कांग्रेसको बकवास सुनिरहन हामी तयार छैनौँ ।” ओलीले कांग्रेसले उठाएको एउटा विषयमा केन्द्रित हुन सुझाव दिँदै जतासुकै आक्रमण नगर्न चेतावनी दिए । केही समयदेखि कांग्रेसले सहकारी ठगीमा गृहमन्त्रीमाथि छानबिनको माग गर्दै संसद् अवरोध गरिरहेको छ ।

“एउटा प्रसंग चलेको छ, त्यो प्रसंगमा कुरा गरे हुन्छ । यतै टोक्या छ, उतै टोक्या छ, यतै भुक्या छ, उतै भुक्या छ, के तरिका हो यो ?,” ओलीले भने, “दुनियाँलाई थाहा छ, मैले भनिरहनुपर्दैन । नेपाली कांग्रेसले संसद्को गरिमामय, संसद्को यति बहुमूल्य समय, सांसदहरूको बहुमूल्य समय, यो देशको बहुमूल्य समय यस प्रकारले कुण्ठाग्रस्त भएर खेर फाल्न हुँदैन । संसद् सुचारू गर्नुपर्छ । हामी सुचारु गर्ने पक्षमा छौँ ।” 

ओलीले कांग्रेसले प्रमााणित भ्रष्टाचारी ल्याएर संसद्मा छिराएको भन्दै अरुलाई प्रश्न उठाउने हैसियत नभएकोरूपमा व्याख्या गरे । नेपाली कांग्रेसका सांसद् टेकबहादुर गुरुङ सर्वोच्चको आदेशबाट संसद् प्रवेश गरेको वियषयलाई ओलीले इंगित गरेका हुन् । उनले कांग्रेसले सबैलाई संसद्‌मा आक्रमण गरे कांग्रेसका नेताहरूको जन्मकुण्डली आफूसँग रहेको भन्दै चेतावनी दिएका थिए । 

“धेरै कुरा म भन्न चाहन्नँ । कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली  हामीलाई थाहा छ,” ओलीले चेतावनी दिँदै भने ।
 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १६:०६
प्रतिक्रिया दिनुहोस्