site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इटालीतर्फ गएका २३ ट्युनिसियाली आप्रवासी समुद्रमा बेपत्ता
फाइल तस्बिर : एपी ।

ट्युनिस । ट्युनिसियाबाट इटालीतर्फ गएका कागजातविहीन २३ ट्युनिसियाली आप्रवासी बेपत्ता भएका छन् । ट्युनिसियाली नेसनल गार्डले आफ्नो फेसबुक पेजमा पोस्ट गरेको विज्ञप्तिमा उक्त जानकारी गराइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “मे ३ मा अबेर राति उत्तरपश्चिमी प्रान्त नाबुलको कोरबाको तटबाट अवैध रूपमा इटाली प्रवेश गर्ने प्रयास गरेका तर सुरक्षा गार्डको अवरोधपछि समुद्रमा अलपत्र परेका २३ ट्युनिसियाली आप्रवासीको एक समूहको परिवाससँगको सम्पर्क टुटेको पीडित परिवारका सदस्यले जनाकारी गराएका छन् ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पारिवारिक स्रोतका अनुसार मे १४ र १५ देखि २३ जनाको समूहमा रहेका उनीहरू परिवारको सम्पर्कबाट टाढिएका हुन् । उनीहरूको अवस्थाबारे जानकारी गराउन बेपत्ताजनका आफन्तले अन्तर्राष्ट्रिय आप्रवासन मामिला हेर्ने संयुक्त राष्ट्रसंघीय संगठनलगायत अन्तर्राष्ट्रिय संघ–संगठनहरूसँग अपिल गरेका छन् ।

इटालीको सामुद्रिक सुरक्षा गार्डले बेपत्ता अवैध आप्रवासीको खोजीकार्य जारी रहेको तर उनीहरूको अवस्थाबारे लामो समयसम्म जानकारी प्राप्त हुन नसकेको जनाएको छ ।

यसैबीच, ट्युनिसियाली सुरक्षा एकाइहरूले गैरकानुनी रूपमा आप्रवासनमा पठाउन संलग्न रहेको आरोपमा पाँच व्यक्तिलाई पक्राउ गरेका छन् ।

मध्य भूमध्यसागरमा अवस्थित ट्युनिसिया युरोपमा अनियमित प्रवेश गर्न चाहने आप्रवासीका निम्ति मुख्य प्रस्थानविन्दुमध्ये एक हो । ट्युनिसियाली तटबाट अवैध आप्रवासन रोक्न ट्युनिसियाली अधिकारीहरूले कडा कदम चालेको भए पनि यो समस्या बढ्दो चुनौतीका रूपमा देखिएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  २२:१७
प्रतिक्रिया दिनुहोस्