site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा सुन लुटपाट गर्ने दुईजना समातिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुईजनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगन्जको टोलीले बूढानीलकण्ठ नगरपालिका–२, बीएमसी स्कुल र माथिल्लो भंगाल क्षेत्रमा गहना लुटपाटमा संलग्न दुईजनालाई आइतबार बूढालीनकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटको मौलापुर नगरपालिका–४ का १९ वर्षीय सरोजकुमार साह र सोही स्थानका २० वर्षीय राधेश्याम साह छन् । उनीहरूले महिलाले लगाएको गहना लुटपाट गर्ने गरेको प्रहरीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बीएमसी स्कुलनजिक ७५ वर्षीया शारदा थापाको एक तोला ९२ लाल सुन लुटपाटमा सरोजकुमार र माथिल्लो भंगालमा सुमित्रा श्रेष्ठको सुन लुटपाटमा संलग्न राधेश्यामलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका दुवैजनाविरुद्ध चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको प्रवक्ता अधिकारीले बताए । रासस

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १०:१०
प्रतिक्रिया दिनुहोस्