site stats
बाह्रखरी :: Baahrakhari
देश

काठमाडौं । महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले गएको भदौ १९ गते काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गर्यो । सुन बोकेको गाडी राजधानी छिरेको सूचना पाएको प्रहरीले गाडीको सिटमा समेत सुन र्यापिङ गरेको होला भन्ने ठानेको थिएन । प्रहरीले नियन्त्रणमा लिएको गाडी चेकजाँच गर्दा सिटदेखि लुकिङ ग्लासमा समेत सुन लुकाएको देखियो । टाटा कम्पनीको गाडीभित्र जताततै सुनैसुन थियो । 

त्यसैगरी शनिबार साँझमात्रै काठमाडौंको बालाजु बाइपासबाट प्रहरीले १० किलो सुनसहित सिन्धुपाल्चोकका फूलमानसिंह तामाङलाई पक्राउ गर्यो । केरुङबाट भन्सार छलीको सुन ल्याएको सूचना पाएको प्रहरीले पहिले तामाङको शरीर खानतलास गर्यो तर केही भेटेन ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनी चढेर आएको मोटरसाइकल चेकजाँच गर्दा पो साइलेन्सरमा १० किलो सुन लुकाएको भेटियो । बरामद भएको सुनको बजार मूल्य ४ करोड ७४ लाख रुपैयाँ ९५ हजार रुपैयाँ रहेको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रविन्द्र धानुकले भने, “फूलमानले सुन ल्याएको छ भन्ने सूचना आयो । २–४ किलो बोकेर ल्याएको होला भन्ने लागेको थियो, तर कुरा अर्कै रहेछ । तामाङ अनुभवी सुन भरिया रहेछन्, प्रहरीलाई झुक्याउन उनले मोटरसाइकलको साइलेन्सरभित्र सुन लुकाएका रहेछन् ।” पक्राउ परेका तामाङले यसअघि पनि यसरी सुन ल्याएको हुन सक्ने देखिएकाले उनको सञ्जालबारे प्रहरीले बुझिरहेको एसएसपी धानुकले बताए । 

स्रोतका अनुसार चिनियाँ बजारमा नेपालतर्फकै लागि दैनिक १ सय किलो सुन बिक्री हुन्छ । त्यो सुन रसुवा हुँदै काठमाडौं भित्रिन्छ र भारतीय बजारमा पुग्छ । 

“यसरी भन्सार छलीको सुनमा तस्करलाई १ किलोमा ५–६ लाख आम्दानी हुने गर्छ । धेरै परिमाणमा सुन ल्याउँदा एकै लटमा धेरै कमाइ हुने भएका कारण बरामद भइहाले पनि तस्करलाई मर्का पर्दैन,” केरुङ भन्सारका एक अधिकृतले भने, “दैनिक दर्जनौं गाडीमा सुन आउँछ, स्क्यानिङ गर्ने मेसिन छैन, हामीलाई शंका लागे पनि खानतलास गर्ने हो । सुन कता लुकाएको हुन्छ, थाहा हुँदैन । प्रहरीले बरामद गर्ने त सयमा ५ प्रतिशतमात्र हो ।”

उनका अनुसार कमिसनमा कुरा नमिल्दा मात्र सुनको सुराकी प्रहरीमा जाने हो, हैन भने सुन त दिनदिनै आएको हुन्छ । यसलाई रोकथाम गर्ने हो भने नाकामा गाडी स्क्यानिङ गर्ने मेसिन आवश्यक पर्ने उनको भनाइ छ । 

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०७४  ११:५८
प्रतिक्रिया दिनुहोस्