site stats
बाह्रखरी :: Baahrakhari
देश
गौचनको हत्या कनेक्सन कुमार घैंटेसँगको कारोबारसम्म ! यस्तो थियो कनेक्सन 

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्याका मुख्य योजनाकार समीरमान सिंह बस्नेतले डाँफे कन्ट्रक्सनको सेयर नपाएपछि गौचनको हत्या गरेको बयान दिएका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट यस्तो देखिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख डीआईजी पुस्कार कार्कीले जानकारी दिए । बस्नेतलाई प्रहरीले भारतबाट पक्राउ गरी ल्याएको छ । आइतबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गौचनले सञ्चालन गर्दै आएको डाँफे कन्ट्रक्सनमा सेयर दिने भनी गजुरमुखी कन्ट्रक्सनकका मुख्य लगानीकर्ता मृतक कुमार श्रेष्ठ (घैंटे) मार्फत २ करोड ५० लाख लिएको भन्ने खुलेको प्रहरीले जनाएको छ ।

घैंटेको केही वर्ष अघि प्रहरी इन्काउन्टरमा मृत्यु भइसकेको छ । 

उक्त रकममध्ये समीरमान सिंह बस्नेतको १ करोड भएको दाबी गरिएको र कुमार श्रेष्ठको मृत्युपछि उक्त सम्पूर्ण रकम बराबरको डाँफे कन्ट्रक्सनमा सेयर वा रकम फिर्ता गर्न भनि समीरमान सिंह बस्नेतले पटक पटक माग गर्दा समेत फिर्ता नगरेपछि विवाद उत्कर्षमा पुगेका बयानमा भनेको प्रहरीले जनाएको छ ।

त्यसबाहेक वीरगन्जदेखि विराटनगर जोड्ने हुलाकी मार्गको ठेक्काको कमिशन वापतको २ प्रतिशत रकम माग गरेकोमा बेवास्ता गरेको पनि अनुसन्धानबाट खुलेको छ ।

अहिलेसम्म गौचन हत्यामा संलग्न मध्ये मुख्य योजनाकार बस्नेत, बसन्त थेवे, धनराज योङहाङ, राजीव स्याङताङ, प्रकाश बुढाथोकी, शिवजी महतो, मुकेश कुमार पाण्डे र सन्तोष गुरुङ पक्राउ परिसकेका छन् ।

त्यसबाहेक मनोज पुन, लोप्साङ लामा, गंगा प्रकाश लिङदेन, श्याम गोम्बे गुरुङ, अमर बहादुर रानामगर, रोशन बुढाथोकी र अजय थापा फरार रहेका छन् ।
 

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०७४  १४:३५
प्रतिक्रिया दिनुहोस्