site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
निर्वाचन आयोगले खरिद गरेको मेसिनमाथि फेरि प्रश्न, साढे तीन करोड बेरुजु

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले ०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, राष्ट्रपति निर्वाचनमा निर्वाचन आयोगले मौज्दातमा रहेका पुनः प्रयोग गर्न सकिने निर्वाचन सामग्री प्रयोग नभएको ठम्याएको छ । आज सार्वजनिक भएको वार्षिक प्रतिवेदनमा मेसिनरी सामग्री पनि प्रयोग नगरेको पाइएको जनाएको हो ।

“विगतको निर्वाचनको तुलनामा कम खर्च भए पनि आयोगमा विगत निर्वाचनमा खरिद भई मौज्दातमा रहेका पुनः प्रयोग गर्न सकिने निर्वाचन सामग्री तथा मेसिनरी उपकरणको उपयोग भएको पाइएन,” प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, निर्वाचनमा मतदाताहरूको सहभागिता बढाउन र बदर प्रतिशतलाई घटाउन मतदाता शिक्षालाई प्रभावकारी बनाउनुपर्ने औँल्याइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन, २०७४ मा ६८.६७ प्रतिशत मतदान भएकोमा २०७९ को चुनावमा ६१.८५ प्रतिशत मात्र मतदान भएकाले मतदानमा सहभागिता दर घटेको देखिन्छ, ” प्रतिवेदनमा भनिएको छ, “यो वर्षको प्रत्यक्ष निर्वाचनतर्फ ६.०६ प्रतिशत र समानुपातिकतर्फ ५.०९ प्रतिशत मत बदर भएको छ । मतदानमा सहभागितादर वृद्धि गर्न एवं बदर मत प्रतिशतलाई न्यूनीकरण गर्न मतदाता शिक्षालाई प्रभावकारी बनाउनुपर्दछ ।”

महालेखा परीक्षकको कार्यालयले मतपत्र छपाइको कागज ४५ प्रतिशत मात्र प्रयोगमा आएको देखाएको छ । ५५ प्रतिशत कागज थन्किएकाले आवश्यकता विश्लेषण गरेर मात्रै कागज खरिद गर्न प्रतिवेदनमा भनिएको छ । 

आयोगले खरिद गरेको मेसिनमाथि फेरि प्रश्न

महालेखाको वार्षिक प्रतिवेदनमा निर्वाचन आयोगले ०७४ मंसिर २२ मा किनेको छपाइ मेसिनको प्रयोगमाथि फेरि पनि प्रश्न उठाएको छ । आयोगले मेसिन प्रयोग नगरी निर्वाचन सामग्री छपाइबापत ९ करोड ३८ लाख ५७ हजार खर्च लेखेकोमा प्रश्न उठाइएको हो ।

“आयोगले २०७४/८/२२ मा खरिद गरेको १० करोड ५५ लाख ४० हजार मूल्यको हाई स्पिड कलर प्रिन्टर एक थान र ११ करोड २८ लाख मूल्यका छाङ्ग स्प्रिङ्ग डिजिटल मोनोक्रम दुई थान प्रयोग नभएको बेहोरा विगत वर्षदेखि औँल्याएकोमा यस वर्ष पनि उक्त प्रिन्टरहरू प्रयोग गरेको छैन । आयोगमा ९ वटा श्यामश्वेत तथा ६ वटा रंगिन मेसिनमध्ये चारवटा मेसिन चालु अवस्थामा रहेको देखिएकाले उपलब्ध स्रोतको अधिकतम परिचालन गरी छपाइसम्बन्धी कार्य गर्नुपर्नेमा सोअनुसार नगरी निर्वाचन सामग्री छपाइबापत ९ करोड ३८ लाख ५७ हजार खर्च लेखेको छ । रणनीतिक योजनामा उल्लेख भएअनुसार उपकरण प्रयोग गरी छपाइ कार्य गर्नुपर्दछ,” प्रतिवेदनमा भनिएको छ । 

त्यसैगरी, बढी परिमाणमा खरिद भएका र मतदान केन्द्रमा प्रयोगमा नआएका सामाग्र फिर्ता नभएको ठम्याइएको छ । 

महालेखाको प्रतिवेदनमा निर्वाचन खर्च विवरण समयमा बुझाएर सार्वजनिक नगर्ने उमेदवारलाई तोकिएको तीन करोड ६५ लाख २५ हजार जरिवाना असुल गर्नुपर्ने उल्लेख छ ।

बेरुजु

निर्वाचन आयोग र मातहत १४९ निकायमा यो वर्ष तीन करोड ५६ लाख ३ हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।  प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि ९ लाख ६१ हजार फर्स्योट भएको र अझै तीन करोड ४६ लाख ४२ हजार बाँकी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १८:५१
प्रतिक्रिया दिनुहोस्