site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वास्थ्यमा ०.१५ प्रतिशतले घट्यो बजेट, यी हुन् प्राथमिकता

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षका निम्ति ल्याएको बजेटमा स्वास्थ्यतर्फ तुलनात्मक रूपमा विनियोजन कम छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आउँदो आर्थिक वर्षका निम्ति ८६ अर्ब २४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । कुल बजेटको यो ४.६४ प्रतिशत हो ।

चालु आर्थिक वर्षमा स्वास्थ्यमा ८३ अर्ब ९९ करोड रुपैयाँ बजेट छुट्ट्याइएको थियो । त्यो कुल बजेटको ४.७९ प्रतिशत हो । अर्थात्, समग्रमा आउँदो आर्थिक वर्षमा ०.१५ प्रतिशतले बजेट घटेको छ । तर, रकमका हिसाबले चालुभन्दा आउँदो आर्थिक वर्षको बजेट दुई अर्ब २५ करोड रुपैयाँले बढी छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्वास्थ्यमा कुल बजेटको १० प्रतिशत रकम छुट्ट्याउनुपर्ने राष्ट्रिय स्वास्थ्य वित्त रणनीति भए पनि त्यसलाई कार्यान्वयन गरिएको छैन । बजेटमा हाल निर्माणाधीन सबै पाँच, १० र १५ शय्याका आधारभूत अस्पताल निर्माण सम्पन्न गर्न १५ अर्ब ४१ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

विपन्न नागरिक औषधि उपचार खर्चअन्तर्गत घातक रोगको उपचारमा दिइने एक लाख रुपैयाँ छुट रकमको सोधभर्नाका निम्ति तीन अर्ब रुपैयाँ छुट्ट्याइएको छ ।

यस्तै, आठ घातक रोगका बिरामीलाई दिइने मासिक पाँच हजार भत्ताका निम्ति दुई अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

आधारभूत स्वास्थ्य सेवा र प्रजनन स्वास्थ्य सेवाका निम्ति एक अर्ब ४३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

आमा सुरक्षा र मातृ तथा नवजात शिशु स्याहार कार्यक्रमलाई तीन अर्ब ६ करोड रुपैयाँ छुट्ट्याइएको छ ।

स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्न सात अर्ब ५० करोड र वैकल्पिक उपचार पद्धतिका निम्ति २४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

स्वास्थ्यमा बजेटका अरू प्राथमिकता–
१. परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नवजात शिशुको विकलांग तथा असाधारण अवस्था पहिचान गर्न भ्रूण तथा नवजात शिशु पहिचान सेवा सञ्चालन गर्ने, 
२. अटिजम शारीरिक तथा बौद्धिक अपांगताको अवस्था र बाल मानसिक समस्याको निदान र उपचारमा जनशक्ति वृद्धि गर्ने, 
३. वीर अस्पतालमा जलनको सघन उपचारका निम्ति आधुनिक कक्ष विस्तार गर्ने, 
४. कीर्तिपुर बर्न अस्पतालको पूर्वाधार विकास गर्ने, 
५. भेरी अस्पताललाई सिकलसेल एनिमिया उपचार केन्द्रका रूपमा विकास गर्ने, 
६. आत्महत्या र मानसिक अस्पताल स्वास्थ्य निराकरण सेवा विस्तार गर्न मानसिक अस्पताल पाटनको क्षमता वृद्धि गर्ने, 
७. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजो प्रत्यारोपण सेवा विस्तार गर्ने, 
८. कर्णाली, पोखरा, पाटन, राप्ती, बीपी कोइराला, कोसी, नारायणी, भरतपुर भेरी, डडेलधुरा र गजेन्द्रनारायण सिंह अस्पताललाई ५०० शय्या क्षमतामा स्तरोन्नति गर्ने, 
९. ३०० शय्या वा सोभन्दा बढी क्षमताका सरकारी अस्पतालमा नर्सिङ र एमबीबीएस अध्यापन सुरु गर्ने, 
१०. भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, न्याम्स (वीर अस्पताल) र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउँदो आर्थिक वर्षबाट एमबीबीएस अध्यापन सुरु गर्ने, 
११. बूढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद योग तथा पञ्चकर्म भवनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने,
१२. सिंहदरबार वैद्यखानाको पुनर्संरचना गर्ने, 
१३. काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोपेथी एन्ड योग साइन्स कलेज स्थापना र पूर्वाधार निर्माण गर्ने, 
१४. स्वास्थ्य बिमा र सामाजिक सुरक्षाका अरू कार्यक्रममा दोहोरोपन हटाउने ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १७:४२
प्रतिक्रिया दिनुहोस्