site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बजेटमा समावेश भएका विषयले आगामी वर्ष बैंकिङ व्यवसायमा सुनौलो दिन आउनेछ : अध्यक्ष केसी

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले विषम परिस्थितिमा आएको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सन्तुलित तथा समयसापेक्ष रहेको बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा अन्तरक्रिया कार्यक्रममा उनले बैंकिङ व्यवसायका लागि आगामी दिन सुनौला दिन आउने बताएका हुन् । 

उनले पर्यटन, जलविद्युत्, स्टार्टअप, सूचना प्रविधि लगायत प्रचुर सम्भावनाका क्षेत्रहरूलाई पहिचान गरी प्राथमिकतासाथ बजेट छुट्टाउनु राम्रो पक्ष भएको बताए । यसले बैंकिङ क्षेत्रलाई निकै फाइदा हुने विश्वास गरिएको पनि उनले बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"निजी क्षेत्रलाई सँगसँगै अगाडि लैजाने बजेटमा आउँदा बैंकलाई लगानी बढाउने अवसर पनि हुन्छ," उनले भने, "अधिक तरलता भएको अहिलेको अवस्थामा लगानीका लागि थप सहज हुनेछ । यसका लागि बैंकिङ क्षेत्र सहकार्य गर्न तयार छ ।"

सामाजिक सुरक्षा कोषमा लाग्ने दोहोरो कर हटाउनुपर्ने, निष्क्रिय कर्जा अनुपात बढ्दै जाँदा बैंकलाई कर छुट दिनुपर्नेजस्ता सुुझाव राखिए पनि पूरा नभएको गुनासो उनले गरे । यद्यपि, विदेशबाट ऋण ल्याउँदा ब्याजदरमा लाग्ने कर घटाइनु राम्रो पक्ष भएको उनको भनाइ छ । 

सबै सरकारी अफिस, मालपोत तथा कर कार्यालय बैंकिङ प्रणालीमा जोड्ने बजेटको उद्देश्य स्वागतयोग्य भएको बताउँदै उनले यस नीतिका कारण बैंकको लागत पनि कम हुने अपेक्षा गरिएको बताए । 

बैंकको सुरक्षालगायतमा सचेतना कार्यक्रम गर्ने लक्ष्य बजेटमै आउँदा बैंकिङ क्षेत्रको मनोबल बढेको उनले बताए । यस्तै आगामी दिनमा मौद्रिक नीतिले केही विषयहरूलाई अगाडि बढाउँदा बजेटले लिएका लक्ष्य पूरा गर्न सहज हुने अध्यक्ष केसीको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १०:१०
प्रतिक्रिया दिनुहोस्