site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सांसदहरू नै भन्छन्– लेखापरीक्षकले रेट नै तोकेर पैसा खाए, रक्सी र मासु नभए कामै गर्दैनन्

काठमाडौं । स्थानीय तहको लेखा परीक्षण गर्न पुग्ने परीक्षकहरूले रेट नै तोकेर पैसा लिने गरेको आरोप लागेको छ । बिहीबार सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले नै मासु, मादक पदार्थ र पैसा नदिएसम्म लेखा परीक्षण नै नहुने समस्या रहेको बताएका हुन् ।

बैठकमा महालेखापरीक्षक तोयम रायाको पनि सहभागी थिए । उनकै अगाडि सांसदहरूले विशेष गरी स्थानीय तहमा लेखापरीक्षकको मनोमानी रहेको बताएका हुन् । मधेस र सुदूरपश्चिमा प्रदेश त भ्रष्टचारको अखडा नै भएको उनीहरूको भनाइ छ ।

बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले हरेक पालिकामा लेखा परीक्षक पुग्दा मासु, मादक पदार्थ र पैसा दिनुपर्ने समस्या बढिरहेको बताए । रायाकै अगाडि उनले मासु, मादक पदार्थ र पैसा नदिएसम्म लेखा परीक्षण नै नहुने समस्या रहेको जिकिर गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले पनि मधेस प्रदेशका सबै स्थानीय तहदेखि प्रदेशसम्मै पैसा नदिएसम्म लेखा परीक्षकले काम नै नगर्ने प्रवित्ति मौलाएको बताए ।

“कसैले यो होइन भनेर चुनौती दिन्छ भने म प्रमाणित गरेर देखाइदिन्छु । कहाँ कसरी यस्तो भएको छ, मैले स्पष्ट देखेको छु,” उनले भने । 

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले पनि स्थानीय तहमा लेखा परीक्षक पुग्दा 'ससुराली पुगेको ज्वाइँलाई भन्दा बढी सम्मान गर्नुपर्ने' अवस्था रहेको बताए । “उनीहरूलाई बस्ने क्वाटरमात्र होइन । मासु, अण्डा र पेय पदार्थ पनि खुवाउनुपर्छ,” उनले भने ।

रास्वपा सांसद हरि ढकालले त रेट नै तोकेर महालेखा परीक्षकले पैसा लिने गरेको दाबी गरे । “गाउँपालिकामा तीन लाख, नगरपालिकामा पाँच लाख रेट छ । रेटअनुसार पैसा बुझाएपछि महालेखासँग डर पनि हुने रहेनछ,” उनले भने ।

बजेट रकमान्तरमा पनि आक्रोश 

बैठकमा सांसदहरूले सदनबाट आएको बजेट रकमान्तरको विषयमा पनि उठाए । रकमान्तर कार्य ज्याददीपूर्ण भएको उनीहरूको भनाइ छ ।

बैठकमा नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले संसद्ले पारित गरेको बजेटबाहिर लगेर रकमान्तर गर्नु भ्रष्टचार भएको बताए । 

सांसदहरूले बजेट रकमान्तगर गरेर चालु खर्चमा लगिने गरेको बताए । उनीहरूले रकमान्तर गर्नैपर्ने भए पुँजीगत खर्चमा गरेर विकास कार्यक्रम अघि बढाउनुपर्ने बताए ।

सांसदहरूले आगामी आर्थिक वर्षका लागि निर्धारण गरिएको राजस्व बराबर अहिले बेरुजु रकम पुग्नु भनेको नेपालमा सुशासनको स्तर भ्रष्ट रहेको प्रमाणित हुने पनि टिप्पणी गरे ।

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १८:४३
प्रतिक्रिया दिनुहोस्