site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
स्रोत संकुचनका बाबजुद पनि वस्तुवादी बजेट आयो : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउँदा स्रोत व्यवस्थापनमा ठूलो चुनौती देखिए पनि वस्तुवादी ढंगले बजेट आएको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा ‘आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेस गर्दै अर्थमन्त्री पुनले नागरिकस्तरमा देखिएका निराशा र अर्थतन्त्रको शिथिलता चिर्ने बजेट आएको दाबी गरेका हुन्।

“बजेट बनाउँदै गर्दा स्रोतको सङ्कुचनको अवस्था हामी सबैले महसुस गरेका थियौँ । बजेटमा निकै धेरै अपेक्षा थिए । युवालाई देशभित्रै भविष्य खोज्ने वातावरण बनाउने गरी बजेट आउँछ कि आउँदैन र निजी क्षेत्रको मनोबल उकास्न बजेटले सक्छ वा सक्दैन भन्ने थियो,” अर्थमन्त्री पुनले भने, “स्रोतको सङ्कुचनका बाबजुद पनि वस्तुवादी बजेट आयो भन्ने प्रतिक्रिया आइरहेका छन् । निजी क्षेत्रले सन्तुलित बजेट आएको भनेका छन् ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आगामी आर्थिक वर्षको बजेटका लागि निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्‌मा प्रस्तुत गरेकाे सिद्धान्त तथा प्राथमिकताका आधारमा आएको अर्थमन्त्री पुनको भनाइ छ । विनियोजन कुशलता र करका दर हेरफेर गर्दा आवश्यकता तथा औचित्यको गम्भीर विश्लेषण गरेर मात्र गरिएको उनको दाबी छ ।

“समग्र जनताका आकांक्षालाई बजेटमार्फत प्रतिबिम्बित गर्ने जिम्मेवारी भएकाले सबैलाई विश्लेषण गरेर कुशलताका साथ विनियोजन भएको छ”, प्रतिनिधिसभाको बैठकमा मन्त्री पुनले भने, “राजस्वका दर निकै कम मात्र हेरफेर गरिएका छन् । हेरफेर गरिएकामध्ये पनि तथ्यले स्वीकार गर्ने र हाम्रा उद्योगलाई संरक्षण गर्ने गरी गरिएका छन् ।” निजी क्षेत्रले नीतिको स्थायित्व चाहेको भन्दै सरकारले पनि करका दरलाई धेरै हेरफेर नगरी नीतिगत स्थायित्व भंग नगरेको उनले बताए । 

गत वर्षको भन्दा अहिले अर्थतन्त्रमा क्रमिक सुधार देखिएको अर्थमन्त्री पुनको भनाइ छ । “समग्र राष्ट्रिय अर्थतन्त्रमा केही स‌ंकुचन देखिएको अवस्थामा यस वर्ष तीन दशमलव नौ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको छ । गत वर्ष एक दशमलव नौ प्रतिशतको आर्थिक वृद्धि हासिल भएको थियो,” उनले भने, “गत वर्षको भन्दा अर्थतन्त्रमा सुधार देखिँदै गएको छ  र बिस्तारै गतिशील बन्दै गएको छ । हामी अझै पूरै सुधारको अवस्थामा भने पुगिसकेका छैनौँ ।” रासस

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १४:१६
प्रतिक्रिया दिनुहोस्