site stats
बाह्रखरी :: Baahrakhari
देश
गृहमन्त्री लामिछानेको सेटिङ नमान्दा कैलाश सिरोहियालाई पक्राउ गरियो : सम्भव सिरोहिया 

काठमाडौं । कान्तिपुरका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमा सेटिङ नगर्दा कैलाश सिरोहिया पक्राउ गरिएको दाबी गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत उनले भिडियो सार्वजनिक गर्दै आफ्नो बुबा समेत रहेका कान्तिपुरका अध्यक्ष कैलाशलाई नागरिकताको विषयमा झुटो मुद्दामा पक्राउ गरिएको बताएका छन् । 

“यसपालि रास्वपाका सभापति गृहमन्त्री रवि लामिछानेको को-अपरेटिप स्क्याम जनताको बीचमा ल्याउने क्रममा उहाँले धेरै अनुरोध गर्नुभयो । यो समाचार मिलाइदिनका लागि, लुकाइदिनका लागि । उहाँले पहिले आफूले गर्नु भएको पत्रकारिताजस्तो सोच्नुभयो भन्ने लाग्यो मलाई । सेटिङ गरेर समाचार बन्छ वा लुक्छ सोच्नुभयो । उहाँलाई कति अनुरोध गरियो कि म्यानेजमेन्टले न्युज लेख्दैन,” सम्भवले भिडियोमा भनेका छन्, “व्यवस्थापनले समाचार लेख्दैन, सम्पादकीय स्वतन्त्रता छ । उहाँले त्यो बुझ्नु भएन । गृहमन्त्रीको अनुरोधमा कान्तिपुरले सेटिङ नगरेको भएर उहाँ फेरि तल्लोस्तरमा ओर्लनुभयो ।  आफ्नो शक्ति दुरूपयोग गर्दै झुटाे केस लगाएर कान्तिपुरका अध्यक्ष मेरो बुबा कैलाश सिरोहियालाई पक्राउ गर्नुभयो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले दलका नेताको भ्रष्टाचार कान्तिपुरले लुकाउन नसक्ने बताएका छन् । आफ्नो बुबा नेपाली नागरिक भएकाले जिल्ला प्रशासनबाट नागरिकता लिएको उनले बताए । 

“भ्रम के फैलाइयो भने उहाँको दाइहरूको नागरिकताको क्याटागोरी फरक छ । उहाँको फरक छ । गृह मन्त्रालयको नियम त गृहमन्त्रीले बुझ्नैपर्ने हो । दाइहरू जन्मिँदा नेपाली नागरिकता प्राप्त गर्नुभएको थिएन । तर, नौजनामध्येको कान्छा छोरा कैलाश सिरोहिया जन्मिँदा प्राप्त गरिसक्नुभएको थियो । यति सरल कुरालाई के–के न जस्तो हल्लाबाजी गरियो,” उनले भनेका छन् । 

उनले सिडियोसँग भएको नागरिकताको नम्बर मिलेको डकुमेन्ट राष्ट्रिय स्वतन्त्र पार्टीका नेताको हातमा कसरी पुग्यो भनि प्रश्न पनि गरेका छन् । उनले प्रहरीले अनुुसन्धान नै नगरी झुटो मुद्दा कसरी फाइल भयो भनि प्रश्न गरेका छन् । उनले डकुमेन्ट नमागी पक्राउ पुर्जी जारी भएकोमा पनि प्रश्न उठाएका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ११:३०
प्रतिक्रिया दिनुहोस्