site stats
बाह्रखरी :: Baahrakhari
देश
सुनजस्तो देखिने पहेँलो धातुसहित एयरपोर्टबाट चारजना पक्राउ
फाइल तस्बिर ।

काठमाडौं । सुनजस्तो देखिने पहेँलो धातुसहित काठमाडौंबाट चारजना पक्राउ परेका छन् । भन्सार छली अवैध रूपमा संकलन गरी ल्याएको करिब २५ ग्राम पहेँलो धातुको सिक्री एकथान र ६९ ग्राम ९९ मिलिग्राम पहेँलो धातुको काँचो डल्लोसहित दुईजनालाई गए राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका–९ का ३१ वर्षीय सरोज कोइराला र रौतहटको कटहरिया नगरपालिका–६ का २४ वर्षीय मोहम्मद इन्तेयाज आलम छन् । कोइराला कतार एयरको उडानमार्फत नेपाल आएका थिए । उनले भन्सार छली ल्याएको उक्त धातु आलमलाई दिने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, भन्सार छली अवैध रूपमा संकलन गरी ल्याएको करिब ५० ग्राम सुनजस्तो देखिने पहेँलो धातुको सिक्री एकथानसहित दुईजनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुंगा नगरपालिका–५ का २१ वर्षीय मोहमद अरमान र सप्तरीकै खडक नगरपालिका–६ का ३७ वर्षीय ज्याउदिन मियाँ छन् ।

ज्याउदिन कतार एयरको उडानमार्फत दोहाबाट नेपाल आएका थिए । उनले उक्त धातु अरमानलाई दिने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आवश्यक कारबाहीका निम्ति उनीहरूलाई भन्सार कार्यालयमा बुझाइने प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १२:४५
प्रतिक्रिया दिनुहोस्