site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बयलपाटा अस्पतालका लागि तत्काल १० करोड बजेटको व्यवस्था गर्न बद्री पाण्डेको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले अछामस्थित बयलपाटा अस्पतालका लागि तत्काल कम्तिमा १० करोड बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले सो अस्पताल बजेटको अभावमा बन्द हुने अवस्थामा पुगेको उल्लेख गर्दै चालु आर्थिक वर्षभित्र आवश्यक बजेटको व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन् ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“अहिले त्यो अस्पतालमा बडो कठिन अवस्था सृजना भएको  छ । दुर्गम ठाउँमा दुईजना विशेषज्ञ डाक्टरसहित नौजना डाक्टरहरु हुनुहुन्छ । १९७ जना अरु स्टाफहरू हुनुहुन्छ । महिनौदेखि उहाँहरू तलबबाट बञ्चित हुनु भएको छ । जसका कारणले यो अस्पताल बन्द हुने अवस्थामा पुगेको छ,” उनले भने । 

सांसद पाण्डेले सो अस्पतालमा चिकित्सकसहितक कर्मचारीहरूले तलबसमेत नपाएको उल्लेख गर्दै सरकारले चालु आर्थिक वर्ष असारभित्रै आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताए ।

“अछाम जिल्लाको बलयपाटा अस्पताल १६ वर्षदेखि नेपाल सरकारसँगको सहकार्यमा न्याय हेल्थ नेपाल नामक संस्थाले सञ्चालन र व्यवस्थापन गर्दै आएको छ । अहिले त्यो अस्पतालमा बडो कठिन अवस्था सृजना भएको  छ,” उनले भने, “यही आर्थिक वर्ष भित्रै कम्तिमा पनि ९/१० करोड विशेष अनुदानको व्यवस्था गरेर बयलपाटा अस्पताललाई सुचारू गर्न, अगाडि बढाउन र दुर्गम क्षेत्रका नागरिकहरूले पाएका सेवा सुविधाहरुलाई निरन्तरता दिन सरकारसँग जोडदार माग गर्दछु ।”

सांसद पाण्डेले अछामसहित बाजुरा, कालिकोट, मुगु, डोटी, दैलेख, हुम्लाजस्तो विकट जिल्लाहरुमा एक वर्षमा करिब एक लाख सेवाग्राहीले निःशुल्क गुणस्तरीय सेवा प्राप्त गर्ने सो अस्पताल सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरेर उचित वातावरण निर्माण गर्न संघीय सरकारले ढिलाई नगर्ने विश्वास समेत व्यक्त गरे । 

उनले सुदूरपश्चिम प्रदेश सरकारले पनि आगामी आर्थिक वर्षका लागि विनियोजन हुने बजेटमा सो अस्पतालका लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताए ।  


 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  ११:४४
प्रतिक्रिया दिनुहोस्