site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
धितोपत्र बोर्ड अध्यक्षका पाँचै आकांक्षीविरुद्ध अख्तियारमा उजुरी 

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि गठित छनोट समितिका विज्ञ सदस्य उदय निरौलासहित सर्टलिष्टमा परेका पाँचैजनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बोर्ड अध्यक्ष छनोट समितिको विज्ञ सदस्य र अहिले छनोट भएका पाँचजना अध्यक्षका उमेदवारहरू नै व्यापारी स्वार्थबाट प्रेरित भएको भन्दै शुक्रबार अख्तियारमा उजुरी परेको हो ।

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स हत्याउन व्यापारीले आफू अनुकुलको सदस्य र अहिले प्रतिस्पर्धामा भएकाहरू पनि सत्ता र व्यापारीहरूको प्रतिनिधिको रूपमा आएको भन्दै उजुरी परेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्तै, विज्ञ सदस्य निरौलाको योग्यतामाथि पनि प्रश्न उठाइएको छ । उनी सामान्य सेयर कारोबारी मात्र भएको र उनको प्रत्यक्ष सम्बन्ध हिमालयन स्टक एक्सचेञ्जका लागि आवेदन दिएको समूहसँग रहेको पनि आरोप छ ।

अध्यक्ष सिफारिस समितिले गत चैत २५ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की, बिमा प्राधिकरण (तत्कालीन बिमा समिति)का पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं, नेपाल धितोपत्र बोर्डकै कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र डा. नवराज अधिकारी तथा सन्तोष नरायण श्रेष्ठलाई सर्टलिष्टमा पारेको छ ।

धितोपत्र बोर्डका कार्यकारी निर्देशकहरू श्रेष्ठ र अधिकारीको विषयमा गम्भीर प्रश्न उठाएका छन् । श्रेष्ठले तत्कालीन अध्यक्ष रमेशकुमार हमालसँग मिलेर प्रिमियम मूल्यमा आईपीओ निष्कासनमा मिलेमतो गरेको आरोप छ । त्यस्तै अधिकारी पनि प्रधानमन्त्रीको नजिकको व्यक्ति भएको भन्दै अभिव्यक्ति दिँदै हिँडेको निवेदनमा उल्लेख छ ।

नेप्सेका सीईओले पनि बजार सुधारका लागि केही काम नगरेको तर, दोस्रो स्टक एक्सचेन्जको लबिङ गर्न सत्तासँग माहिर पात्र भएको निवेदनमा उल्लेख छ । तत्कालीन बिमा समितिको अध्यक्ष हुँदा चापागाईंले व्यापारिक घरानासँग मिलेर लाइसेन्स बिक्री गरेको पनि आरोप छ ।

त्यस्तै, सन्तोष नारायण भने व्यापारीहरूले खडा गरेको पात्र भएकाले उनको योग्यता नै नपुग्ने निवेदनमा उल्लेख छ । अहिले व्यापारिक स्वार्थ नमिल्दा बोर्ड अध्यक्ष छनोट प्रक्रिया लम्बिएको पनि निवेदनमा उल्लेख छ । यी सबैको छानबिन गर्नुपर्ने गरी उजुरी आयोगमा दर्ता भएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १५:२९
प्रतिक्रिया दिनुहोस्