site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न सांसद पन्तले गराए ध्यानाकर्षण
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले संघीय संसद् सचिवालयका कर्मचारीलाई अतिरिक्त समय काम गरेको भत्ता दिलाउन सरकारलाई आग्रह गरेका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पन्तले संघीय संसद् सचिवालयका कर्मचारीहरूलाई अतिरिक्त समय काम गरेको भत्ता उपलब्ध गराउन सरकारसँग आग्रह गरेका हुन् । उनले अन्य कर्मचारीहरूले नियमानुसारको अतिरिक्त समय काम गरेको भत्ता पाइरहेको भए पनि संसद्का कर्मचारीहरूले नपाएको भन्दै संसद्का कर्मचारीहरूमाथि अन्याय भएको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले संसद्मा पढ्न राखिने अखबारहरूमा समेत कटौती भएको भन्दै मुलुकको आर्थिक अवस्था सांसदहरूको अखबारमा कटौती गर्नुपर्ने अवस्थामा पुगेको हो भनि प्रश्न समेत गरेका छन् । 

"जे सुविधा अरु मन्त्रालयका कर्मचारीहरूले पाएका छन्, त्यो सुविधा संसद् सचिवालयका कर्मचारीहरूले नपाउने कुरा चाहिँ हुँदैन । कोभिड यता उहाँहरूले ओभरटाइम गरेको कुनै पनि भत्ता पाउनुभएको छैन । नियम, कानुन अनुसारको भत्ता अहिले पनि नपाउने भन्नेकुरा त अन्याय भयो नि," उनले भने, "अरु मन्त्रालयका कर्मचारीले पाउने । अन्तका कर्मचारीले पाउने । संसद्का कर्मचारीले चाहिँ किन नपाउने ? आज यहाँ देखिरहेका छौँ, सभामुखज्यूलाई सहयोग गर्न बस्नुपर्ने कर्मचारीहरू हुनुहुन्न । उहाँहरू बाहिर धर्नामा हुनुहुन्छ । संसद्भित्र यो दृश्य उपस्थित हुनु आफैँमा दुःखद् हो कि होइन ।" 

सांसद पन्तले संसद्लाई सरकारले सहयोग गर्नुपर्ने बताए ।

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १२:१८
प्रतिक्रिया दिनुहोस्