site stats
बाह्रखरी :: Baahrakhari
देश
भक्तपुरमा देखियो नयाँ चरा

भक्तपुर । युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने पन्छी ‘लेसर ग्रे स्राइक’ पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको छ ।

तापक्रम वृद्धिसँगै गर्मी भेगमा मात्र हुने यो पन्छी असार लागेपछि भक्तपुरको मनोहरास्थित ‘मिनि कोसीटप्पु’मा भेटिएको चरा अन्वेषणकर्ता सञ्जय थाश्रेष्ठले जानकारी दिए । यो चरा काठमाडौं उपत्यकामा पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको उनले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पन्छी पथप्रदर्शक शंकर तिवारीले मनोहरामा लेसर ग्रे स्राइक भेटेपछि तस्बिर कैद गर्दै काठमाडौं उपत्यकासँगै नेपालको पहाडी भेगका निम्ति पहिलो अभिलेख गरिएको जानकारी दिए ।

नेपालमा पहिलोपटक गत वर्षको वैशाख अन्तिम साता राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक देवराज जोशीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वीतटीय क्षेत्रमा यो चरा देखेका थिए । यो चरालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विज्ञको टोलीले नेपालका निम्ति पहिलो भएको पुष्टि गरेका पन्छी अनुसन्धानकर्ता थाश्रेष्ठले जानकारी दिए ।

गौँथलीझैँ देखिने, निधार र टाउकोमा कालो रङ तथा कालो पखेटाको मध्य भागमा सेतो रङ हुने र लामो दूरीसम्म उड्न सक्ने यो चरा भक्तपुरमा असार लागेपछि जोडी नै देखिएको उनले बताए । योसँगै मनोहरामा पन्छीका करिब ३०० प्रजाति अभिलेख भएका छन् ।

युरोप र पश्चिम एसियाका पानी कम पर्ने स्थान, मरुभूमि आसपासका क्षेत्र र भारतको राजस्थान, पाकिस्तान, अफगानिस्तानका सुक्खा भेगमा लेसर ग्रे पाइने उनले जानकारी दिए ।

एक महिनाअघि मनोहरामा ‘जल कुखुरा’ पनि देखिएको थियो । नेपालका अरू भेगमा प्रायः नपाइने ‘ठूलो कस्दरी’ जलपन्छी ०७९ भदौमा, सोही वर्ष भदौमै मनोहरामा ‘सेतो पंखे फ्यालफ्याले’ र ०७८ असोज अन्तिम साता मनोहरा खोला किनारमा १९२ वर्षपछि पानी गौँथली देखिएको अनुसन्धानकर्ता थाश्रेष्ठले जानकारी दिए । रासस

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १०:३१
प्रतिक्रिया दिनुहोस्