site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कर्मचारीको सरुवा–बढुवामा धेरै दबाब : मन्त्री जोशी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले कर्मचारीको सरुवा–बढुवामा धेरै दबाब आउने गरेको बताएका छन् । सुगम क्षेत्रमा दुई र दुर्गममा अनिवार्य एक वर्ष काम गर्नुपर्ने गरी कर्मचारी निर्देशिका ल्याउने तयारी भइरहेको पनि उनले जानकारी गराए ।

सोमबार प्रतिनिधिसभा बैठकमा उनले उक्त निर्देशिका यही असार/साउनबाट लागु गर्ने तयारी भइरहेको बताए । “एउटा समूह आउँछ, सरुवा गर्दे भन्छ । एकछिनमा अर्को आउँछ, किन सरुवा गरिस् भन्छ,” उनले भने, “तीनै तहमा पठाउने कर्मचारीका लागि निर्देशिका तयार पारेर असार महिनामा पास गरेर अर्को महिनामा लागु हुने गरी तयारीमा लागेको छु ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले विभिन्न कारणले स्थानीय तहमा कर्मचारी पठाउन नसकिएको बताए । २३७ पालिकामा निमित्तले प्रमुख प्रशासकीय भएर काम चलाएको उनले उल्लेख गरे ।

सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउने तयारीमा आफू लागेको उनले बताए । “विभिन्न कारणले प्रमुख प्रशासकीय अधिकृत पठाउन नसकेको हो । मुद्दा–मामिलाले स्थानीय तह थलिएको छ । अख्तियारको मुद्दाले जनप्रतिनिधि मात्र हैन, कर्मचारी पनि रिक्त छन् र यसलाई सच्याउने प्रयासमा छु,” उनले भने ।

‘पहुँचवाला’ कर्मचारी सुगम ठाउँमा जाने गरेको उनले स्वीकार गरे । निजामती सेवा ऐन ल्याउन सके सबै समस्या समाधान हुने उनले बताए । संसदीय भएको विधेयक चाँडोभन्दा चाडो अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १६:३५
प्रतिक्रिया दिनुहोस्