site stats
बाह्रखरी :: Baahrakhari
देश
६० किलो सुन तस्करी प्रकरण : दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ, १५ अझै फरार

काठमाडौं । हङकङबाट क्याथे प्यासेफिकको विमानमार्फत नेपाल भित्र्याइएको ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दोस्रो चरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ ।

गत वर्ष साउन २ गते हङकङबाट विमानमार्फत स्कुटरको ‘ब्रेक सू’भित्र लुकाएर ल्याएको अवस्थामा बरामद गरिएको ६० किलो सुन प्रकरणको दोस्रो चरणमा २० जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“६० केजी सुन प्रकरणमा दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ गरी छानबिन गरिएको छ, १५ जना अझै फरार छन्, यस विषयमा केही दिनभित्र पत्रकार सम्मेलनमार्फत थप विवरण सार्वजनिक गरिनेछ,” उनले भने ।

दोस्रो चरणको अनुसन्धानका क्रममा सीआईबीले भारतीय नागरिक प्रशान्तगणेश वजवलकर, सिद्धनाथअशोक गायकवाड, बैजनाथमहादत्त गोयल, धीरजदिनेश वैट, पर्सा वीरगञ्ज–११ का सुरेन्द्रमान श्रेष्ठ, भक्तपुर सूर्यविनायक–५ का राजु खत्री, मध्यपुर–१५ का सुशील जाकिबन्जा, काभ्रेपलाञ्चोक तेमाल–४ का कान्छा लामा, नमोबुद्ध–१० का भीमप्रसाद तिमल्सिना, भुम्लु–१ का रूपक भण्डारीलाई पक्राउ गरेको छ ।

यसैगरी, काठमाडौं–७ का प्रज्वल आचार्य, काठमाडौं सुविधानगरका सुरजशमशेर जबरा, बाफलका कश्यप मानन्धर, गुल्मी सत्यवती–१ का लालबहादुर कुँवर, बारा जितपुर–१९ का अरूणकुमार यादव, तिब्बतीयन नागरिक गंगा टासी तथा सेराप भन्ने सोनम गुरुङलाई पक्राउ गरी थुनामा राखिएको प्रवक्ता बोगटीले बताए ।

उनका अनुसार दोस्रो चरणको अनुसन्धानमा सुन तस्करी गर्ने, गलाउने, ओसारपसार गर्ने, खरिद तथा बिक्री गर्ने तथा रकम व्यवस्थापनमा योजनाबद्धरूपमा संलग्नहरूमाथि अध्ययनको काम भइरहेको छ । फरार रहेका १५ जनाको खोजी कार्य जारी छ । 

यसअघि सीआईबीले पहिलो चरणको अनुसन्धान पूरा गरी गत असोज १ गते २९ जनाविरुद्ध तीन अर्ब ३० करोड ३० लाख बिगो तथा जरिवानाको मागसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । रासस
 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  २१:५२
प्रतिक्रिया दिनुहोस्