site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ती रामकुमारी झाँक्री यी डा. मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकालको एउटा तस्बिर आज (बुधबार) भाइरल बनेको छ । तस्बिरमा उनी पार्टी सभापति रवि लामिछानेसँगै बसेका छन् । तस्बिर बुधबार भएको रास्वपा केन्द्रीय समितिको बैठकका क्रममा लिइएको हो । 

तस्बिरमा ढकालले मुखमा मास्क लगाएका छन् । मास्कको बाहिरी भागमा उनले क्रस चिह्न हुनेगरी कालो टेप लगाएका छन् । आफ्नो बोल्ने अधिकार हनन् भएको भन्दै ढकालले विरोध स्वरुप मुखमा कालो टेप लगाएका हुन् । 

बुधबार भाइरल भएको ढकालको तस्बिरले तीन वर्षअघिको रामकुमारी झाँक्रीको एक तस्बिर सम्झाइ दिएको छ । सामाजिक सञ्जालमा आज केहीले ढकाल र झाँक्रीको तस्बिर एकै ठाउँमा जोडेर ‘ती झाँक्री, यी डाक्टर’ भन्दै पोष्ट पनि गरेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

२०७७ माघ २८ गते तत्कालीन नेकपा नेतृ (हाल नेकपा (एकीकृत समाजवादी)) झाँक्रीले भृकुटीमण्डपमा आयोजना गरिएको विरोध कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुखमा टेप लगाएर स्टेजमा गएकी थिइन् । 

तत्कालीन प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेपछि त्यसको विरोधमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्षले आमसभाको आयोजना गरेको थियो । 

आमसभालाई सम्बोधन गर्ने क्रममा नेतृ झाँक्रीले मुखमा लगाएका टेप खोलेर भाषण गरेकी थिइन् । उनले टेप खोल्नुअघि ‘प्रतिगमन मुर्दावाद’ लेखिएको कपडा शरीरबाट झिकेर फालेकी थिइन् । 

मुखमा मास्क लगाएर स्टेजमा पुगेकी झाँक्रीले भाषण गर्नुअघि मास्क झिकेर फालेकी थिइन् । त्यसपछि उनको मुखमा लगाएको टेप देखिएको थियो । मुखमा लगाएको टेप उप्काएर फाल्दै उनले भनिन्, “बोल्न पाइन्छ । हामी बोल्न जन्मिएका हौँ ।” 

झाँक्रीले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र ओलीको आलोचना गरेपछि ओली पक्षधर नेताहरूले आपत्ति जनाएका थिए । त्यसपछि उनी मुखमा टेप लगाएर भृकुटीमण्डपको मञ्चमा देखिएकी थिइन् । 

झाँक्रीझै ढकाल पनि आज रास्वपाको केन्द्रीय समिति बैठकमा प्रस्तुत भएका थिए । उनको उदेश्य पनि उस्तै थियो– बोल्न पाउनुपर्छ । 

रास्वपाका सह–प्रवक्ता मनिष झाका अनुसार बैठकमा एकजना केन्द्रीय सदस्यलाई बोल्नका लागि सात मिनेट समय दिइएको थियो ।

बैठकको सुरुमा नै सभापति रवि लामिछानेले महामन्त्रीको प्रतिवेदन लाइभ गर्ने प्रस्ताव राखेका थिए । “सुरुमा पार्टी सभापतिले महामन्त्रीको अनुरोधअनुसार लाइभ गर्ने प्रस्ताव गर्नुभयो । तर, प्रतिवेदन सभापतिबाहेक कसैले हेरेका थिएनौँ,” उनले भने ।

तर, केन्द्रीय सदस्यहरूले पहिला केन्द्रीय समितिमा वाचन गर्ने र सबैले आफ्ना धारणा राखेपछि सार्वजनिक गर्नुपर्ने अडान लिएको उनले बताए । महामन्त्रीले लाइभ नगरे स्वतन्त्रताको हनन् भएको भन्दै मुखमा कालो टेप लगाएर बसेको सह–प्रवक्ता झाले जानकारी दिए । 

“महामन्त्रीज्यूले लाइभ गरिँदैन भने मेरो व्यक्तिगत स्वतन्त्रताको हनन् हो । त्यसैले गर्दा मुखमा कालो टेप लगाएर बस्छु भन्नुभयो । र, कालो टेप लगाउनुभयो,” उनले भने । 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १४:५८
प्रतिक्रिया दिनुहोस्